आज काँग्रेसले देशभर प्रदर्शन गर्ने

आज काँग्रेसले देशभर प्रदर्शन गर्ने तरुण खबर ३ फाल्गुन २०७७, सोमबार ११:१३
आज काँग्रेसले देशभर प्रदर्शन गर्ने

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा फागुन ३ गते आज सोमबार देशभर विरोध प्रदर्शन गर्ने भएको छ । सरकारविरुद्ध घोषणा गरिएको तेस्रो चरणको आन्दोलनअन्तर्गत काँग्रेसले सोमबार ७७ जिल्लामा प्रतिनिधि सभा विघटनको विरोधमा प्रदर्शन गर्न लागेको हो । नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनविरुद्ध सोमबार हुने विरोधसभामा सहभागी हुन आह्वान गरेका छन् ।  देउवाले विघटनलाई संवैधानिक व्यवस्थाको प्रतिकुल समेत भनेका छन् । ‘संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमतका साथ आन्दोलनमा छ, उनले अगाडि भनेका छन्, ‘पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा आज सोमबारको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध एक्यवद्धता प्रकट गर्न अपील गर्दछु’ विज्ञप्तिमा भनिएको छ ।

१४औं महाधिवेशनबारे छलफल गर्न केस बैठक
संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेस र उसका भ्रातृ तथा शुभेच्छुक संस्थाले यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गते सरकाविरुद्ध विरोध प्रदर्शन गरेका थिए । त्यस्तै, संसद् विघटनविरुद्ध आन्दोलनरत नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले फागुन ५ गते दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । बैठकले आगामी १४औं महाधिवेशन सम्बन्धी छलफल गर्ने छ ।

अदालतको फैसला स्वीकार गरिने    
यसैगरी नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको भन्दै त्यसको विरुद्धमा कांग्रेसले प्रदर्शन जारी नै राख्ने बताएका छन् । सर्लाहीको बबरगंजमा आयोजित सभामा कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले अदालतको निर्णय नै स्वीकार्य हुने निधिले बताए ।

नेता निधिले अदालतले निर्वाचनको पक्षमा फैसला गरे पार्टीले स्वीकार गर्दै निर्वाचन तयारीमा लाग्ने तथा संसद् पुनस्र्थापनाको पक्षमा फैसला गरे सशक्त भएर संसद्मा प्रस्तुत हुने बताए ।  कांग्रेसहरुले चन्द्रनगर गाउँपालिकामा तानाशाह प्रवृत्ति लादिएको गुनासो गरेपछि नेता निधिले राणा र राजाजस्ता तानाशाह फालिएको स्मरण गराउँदै स्थानीय तहको यस्तो प्रवृत्ति परास्त गर्न सबै एकजुट भएर लड्न आग्रह गरेका थिए ।