नेपालको जनसंख्याको तीन प्रतिशतलाई मात्र दोस्रो डोज खोप

नेपालको जनसंख्याको तीन प्रतिशतलाई मात्र दोस्रो डोज खोप तरुण खबर २५ असार २०७८, शुक्रबार ०९:५८
नेपालको जनसंख्याको तीन प्रतिशतलाई मात्र दोस्रो डोज खोप

चीनबाट १८ लाख र भारतबाट ११ लाख डोज अनुदानमा प्राप्त

काठमाडौं । २ करोड ९६ लाख ६६ हजार ७७२ जनसंख्या रहेको नेपालाई अमेरिकाले कोभ्याक्स खोप उपलब्ध गराउँने भएको छ । संयुक्त राज्य अमेरिकाले नेपाललाई जतिसक्दो छिटो खोप उपलब्ध गराउन नेपाल सरकार र कोभ्याक्ससँग नजिकबाट काम गरिरहेको बताएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासकी प्रवक्ता एना रिची एलनले भनिन्– संयुक्त राज्य अमेरिका नेपाल सरकार र कोभ्याक्ससँग नजिकमा रहेर अमेरिकी खोपहरू नेपालमा चाँडोभन्दा चाँडो प्रयोग गर्न मिल्नेगरी भित्र्याउने उद्देश्यले काम गरिरहेको छ ।

सुरक्षित र प्रभावकारी रूपमा नेपालमा खोप भित्र्याउन कानुनी र बन्दोबस्तीका चुनौती सकेसम्म चाँडो सम्बोधन गर्ने प्रयत्न हामीले गरिरहेका छौँ उनले भनिन् भनी बीबीसीका फणिन्द्र दाहालले लेखेका छन् । दाहालका अनुसार अमेरिकाले उपलब्ध गराउने खोपको परिमाण हालसम्म खुलाइएको छैन । तर त्यो उल्लेख्य परिमाणमा आउने बताइएको छ ।

दुई साताअघि सरकारले गठन गरेको विज्ञ समितिका संयोजकले नेपालले ६ लाख जोनसन एन्ड जोनसनको खोप प्राप्त गर्न लागेको बताइएको थियो । नेपालमा कोरोनाभाइरसका कुल संक्रमितको संख्या ६ लाख ५१ हजार ३८० छ, जसमध्ये ६ लाख १५ हजार ६१३ जनालाई संक्रमण निको भैसकेको छ । २०७८ साल असार २४ गते साँझ ६ बजेसम्ममा नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ४४७ जना छन् । हालसम्म कोरोनाभाइरसको संक्रमणबाट ९ हजार ३२० जनाको निधन भैसकेको छ ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासकी प्रवक्ताले कानुनी र बन्दोबस्तीका चुनौती सम्बोधन गर्न आफूहरूले काम गरिरहेको जनाएकी छन् । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले आपत्कालीन प्रयोग अनुमति दिएका खोप नेपाल भित्र्याउन कुनै बाधा नरहेको प्रतिक्रिया दिएका छन् । भारत र चीनबाट अनुदान तथा खरिद गरी भित्र्याएको खोपका मद्दतले नेपालको जनसंख्याको तीन प्रतिशतभन्दा बढीलाई दुवै मात्रा र नौ प्रतिशतभन्दा बढीलाई पहिलो मात्रा खोप दिएको छ ।

बाइडन प्रशासनले नेपालसहित एशिया प्रशान्त क्षेत्रका १७ वटा देश र प्यासिफिक आइल्याण्डलाई दुई करोड ३० लाख मात्रा खोप उपलब्ध गराउने घोषणा गत जून महिनामा गरेको थियो । अघिल्लो साता मात्रै अमेरिकाले दक्षिण एशियाका पाकिस्तान र बाङ्लादेशलाई २५÷२५ लाख मात्रा खोप उपलब्ध गराएको थियो । ती दुवै देशलाई मोडेर्नाको खोप दिइएको भए पनि नेपाललाई भने अमेरिकाले एउटा मात्रा मात्रै लगाउँदा हुने जोनसोन एन्ड जोनसनको खोप उपलब्ध गराउन लागेको बुझिएको छ । विश्वव्यापी खोप अभियान कोभ्याक्समार्फत् उक्त खोप नेपाललाई दिने भनिएको छ । अघिल्लो साता वाशिङ्टन डीसीस्थित नेपाली राजदूतावासले जारी गरेको प्रगति विवरणमा नेपालले प्राप्त गर्ने खोपको सङ्ख्या प्रस्ट नभए पनि नेपाली पक्षले सङ्क्रमणको उच्च दर र आयस्तरका आधारमा बढी मात्रा उपलब्ध गराइनुपर्ने धारणा राखिरहेको उल्लेख गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरू कोभ्याक्स अभियानबाट खोप प्राप्त गर्न विलम्ब भएको उल्लेख गर्दै डब्ल्यूएचओले आपत्कालीन प्रयोगको अनुमति पाएका जुनसुकै खोप जतिबेला पनि नेपालमा भित्र्याउन सम्भव रहेको बताउँछन् । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने– डब्ल्यूएचओले आपत्कालीन प्रयोगका लागि मान्यता दिएका खोपहरू भित्र्याउन मिल्नेबारे मन्त्रिपरिषद्ले केही दिन पहिले एउटा निर्णय गरेको छ ।

त्यसले सबै बाटो खोल्छ । उनी भन्छन्– हामीसँग एकैचोटी ७०–८० लाख खोप कहाँबाट आउँछ ? हामीसँग त्यो भन्दा बढी मात्रा खोप भण्डारण गर्ने क्षमता छ । हामीले खोप आउँदै गर्दा त्यसलाई लगाएर पनि सक्दै जाने भनेका छौँ । त्यही भएर भण्डारणमा पनि समस्या हुने देखिँदैन । नेपालले हालसम्म आफूले भारत र चीनबाट खरिद गरेको सहित ४२ लाख ४८ हजार मात्रा खोप भित्र्याएको छ । अबको पाँच महिनामा नेपालले कहाँबाट कति खोप भित्र्याउँदै छ । त्यसमध्ये १८ लाख चीनले र ११ लाख भारतले अनुदान दिएका थिए । भारतबाट खरिद गरिएको २० लाखमध्ये हालसम्म १० लाख खोपमात्रै नेपालले प्राप्त गरेको छ ।

कोभ्याक्स अभियानले यसअघि नै नेपालले ३ लाख ४८ हजार मात्रा खोप दिएको थियो । चीनसँग खरिद गरिएको ४० लाख खोप लिन नेपालको नेपाल वायुसेवा निगमको विमान हिजो बिहीवार चीनतर्फ गएको छ । बुधवारसम्ममा २६ लाख ११ हजार ८०७ नेपालीले पहिलो मात्रा खोप र ८ लाख ५१ हजार ३०० नेपालीले दोस्रो मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।