तरुण खबर
२५ असार २०७८, शुक्रबार १०:०२
क्रियाशिल सदस्यता वितरणप्रति पौडेलको आशंका
काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेसन २०७८ भदौ १६ गतेदेखि १९ गतेसम्म हुने भनिएको नेपाली काँग्रेसका ५० हजारभन्दा बढीले क्रियाशिल सदस्यता नविकरण गराएका छैनन् । २०७२ साल फागुन २० गतेदेखि शुरु भएको १३औँ महाधिवेशनमा क्रियाशिल सदस्यता पाएका ५० हजार व्यक्तिले यसपटक नविकरणका लागि आवेदन नदिएका हुन् ।
आउँदो भदौ १६ देखि १९ गतेसम्म हुने १४औँ महाधिवेशनका लागि केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको क्रियाशिल सदस्यता छानबिन समितिले काम गरिरहेको छ । १३औं महाधिवेसनमा नेपाली काँग्रेसले चार लाख ७० हजार जनालाई क्रियाशिल सदस्यलाई सदस्यता दिएको थियो । तर यसपटक त्यसमध्ये जम्मा चार लाख २० हजार जनाले मात्रै नविकरण गरेको छानबिन समितिका प्रवक्ता प्रदिप पौडेलले जानकारी दिएका छन् । तर क्रियाशिल सदस्य छानविन समितिप्रति आशंका गर्दै महाधिवेसन नै प्रभावित हुन सक्ने नेताहरुले भन्दै आएका छन् । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले क्रियाशील सदस्यको विवाद टुंगो लगाउन भरमग्दुर प्रयास भैरहेको बताएका छन् । क्रियाशील सदस्य टुंगो नलगाइकन महाधिवेशनमा जान नसकिने महामन्त्री कोइरालाको भनाइ छ ।
वरिष्ठ नेता रामचन्द्रको छलफलमा डा. शेखर गएनन्
वरिष्ठ नेता राचन्द्र पौडेल समूहको हिजो बिहीबार क्रियाशिल सदस्यकै विषयमा छलफल राखिएको थियो । छानविन समिति सदस्य जीवन परियारका अनुसार बिहीबारसम्म ५५ जिल्लाको विवाद टुंगो लागेको छ । अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई आफूखुसी ठूलो संख्यामा क्रियाशील वितरण गरिएको पौडेल समूहको आरोप छ । पौडेल समूहले पार्टी समायोजन समिति र क्रियाशील सदस्यता छानविन समितिमा रहेका आफूनिकट नेताहरुसँग छलफल गर्दै क्रियाशील सदस्यताबारे छलफल गरेको हो ।
पौडेल समूहको छलफलमा बरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाललगायत सहभागी थिए । त्यस्तै समायोजन समितिमा रहेका नेताहरु दिलेन्द्र प्रसाद बडु र दीपक गिरी पनि छलफलमा सहभागी थिए ।
क्रियाशिल सदस्यताको टुंगो लाग्यो भने १४औं महाधिवेसन हुने निश्चित हुने बताइन्छ । १४औं महाधिवेसनका लागि सभापतिका प्रमुख दावेदारहरुमा शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शशांक कोइराला छन् । क्रियाशिल सदस्यहरुले प्रतक्ष्य मत हाल्न पाउँने भए परिणाम फरक आउँन सक्थ्यो तर उनी अप्रतक्ष्य मत हाल्ने भएकाले पुरानै पुस्ता नेतृत्वमा आउँने सम्भावना छ ।
क्रियाशिल नविकरण नहुनुको कारण मृत्यु, विदेश गएको र केही व्यक्तिले नविकरण नगरेको हुन सक्ने अनुमान गरिएको छ । यसपटक शत प्रतिशत क्रियाशिल सस्यता थप्ने निर्णय गरेकोले पनि काँग्रेसमा नयाँ सदस्यताका लागि भने आकर्षण देखिएको छ । अन्य पार्टीमा मत हाल्ने व्यक्तिहरुले क्रियाशिल सदस्यको आवेदन दिएको प्रवक्ता पौडेलले बताएका बिहीबारको छलछलमा बताएका छन् । पौडेलका अनुसार छानबिन समिति समक्ष विदेशबाट बाहेक नौ लाख २५ हजार जनाले फर्म भरेका छन् । नयाँ क्रियाशिल वितरणमा भने कांग्रेसमा विवाद भएको छ । तल्ला कार्यसमितिले सिफारिस गरेको क्रियाशिल सदस्यतामा व्यापक मात्रमा उजुरी परेका छन् ।
६ हजार सात सय ४३ वटा मध्ये करिब दुई सय वटामा नयाँ क्रियाशिल वितरण सच्याउन माग गर्दै उजुरी दर्ता भएका छन् । समितिलाई असार २० गतेभित्र छानबिन सक्न भनिए पनि मसान्तसम्म लाग्ने भएको छ । समितिका अर्का एक सदस्यका अनुसार करीब १५ जनाले दैनिक बिहानदेखि बेलुकासम्म समितिले निरन्तर काम गरिरहेको छ । तिलगंगा स्थित भारतले बनाई दिएको धर्मशालामा बसेर नेपाली काँग्रेसको क्रियाशिल सदस्य छानविन गरिरहेको छ । धर्मशालालाई रिजर्भ गरेर काम गरिएको छानविन समितिका एक सदस्यले जानकारी दिएका छन् ।


