तरुण खबर
२७ कार्तिक २०८२, बिहीबार १२:१२
काठमाडाैं, २७ कार्तिक । आफ्नो वित्तीय स्वास्थ्यका कारण पछिल्लो समय चर्चामा रहेको एनआईसी एशिया बैंकले लगानीको ढाँचा बदल्ने भएको छ। केही वर्षअघि ठूला कर्पोरेट कर्जाबाट पछि हटेर खुद्रा बैंकिङमा केन्द्रित भएको यो बैंक अब पुन: कर्पोरेट र निर्माण (कन्स्ट्रक्सन) क्षेत्रमा फर्कने रणनीतिमा लागेको छ।
बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्यले अर्थपथसँग कुरा गर्दै कर्जा तथा लगानी नीति बदल्ने बताएका छन्। ८ वर्षपछि बैंकमा फर्किएका शाक्यले सबै विभागीय प्रमुखहरूलाई नयाँ रणनीतिबारे जानकारी गराइसकेका छन्।
विगतको रणनीति र चुनौती
यही कारणले लामो समय बैंकको नेतृत्व गरेका रोशन न्यौपानेले जागिर छाड्नुपरेको थियो।
नयाँ नेतृत्वको दिशा
नबिल बैंकको डेपुटी सीईओबाट एनआईसी एशियाको नेतृत्व सम्हाल्न आइपुगेका सीईओ सुजितकुमार शाक्यले भने, “अब हामी कर्पोरेटमा पनि जाने हो र कन्स्ट्रक्सनमा पनि जाने हो।” यद्यपि, निर्माण क्षेत्रमा अहिले देखिएको समस्याबारे उनी सचेत छन्।
शाक्यको बुझाइमा ठूला कर्पोरेटहरूसँग धेरैथरी कारोबार र कम्पनी हुने भएकाले उनीहरूमा आर्थिक ‘झटका’ (शक) सहने क्षमता ज्यादा हुन्छ। एउटा कम्पनीको व्यापार बिग्रिए पनि अर्को कम्पनीको आम्दानीबाट ऋण तिर्न सक्छन्।
तर, साना ऋणीहरू (कम नगद प्रवाह र धितोमात्र भएका) थोरै अप्ठ्यारो पर्ने बित्तिकै समस्यामा पर्ने र कर्जा डुब्ने सम्भावना बढी हुने उनको तर्क छ।
यसैले अब उनी ‘सन्तुलनकारी’ बाटोमा अग्रसर हुन खोजेका छन्।
“ठूला व्यवसायीहरू पहिले तिमीहरूले हामीलाई निकालेको हो भनिरहेका छन्। तुरुन्तै विस्वास जित्न गाह्रो छ,” सीईओ शाक्यले भने, “तर सुजित आएपछि विस्तारै सुधार हुँदैछ भन्ने सन्देश पुर्याउँछु र उनीहरूको विस्वास पुन: जित्ने छु।”


