बीमा बजारको छलाङ: ३ महिनामै ६३ अर्बको व्यवसाय, पहुँच करिब ५०% पुग्यो

बीमा बजारको छलाङ: ३ महिनामै ६३ अर्बको व्यवसाय, पहुँच करिब ५०% पुग्यो तरुण खबर २८ कार्तिक २०८२, शुक्रबार १२:३५
बीमा बजारको छलाङ: ३ महिनामै ६३ अर्बको व्यवसाय, पहुँच करिब ५०% पुग्यो

काठमाडाैं, २८ कार्तिक । नेपाली बीमा बजारमा उत्साहजनक सकरात्मकता देखिएको छ। आर्थिक वर्ष २०८२–८३ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा बीमा व्यवसायको आकार झन्डै साढे ६३ अर्ब रुपैयाँ पुगेको छ।

नेपाल बीमा प्राधिकरणबाट प्राप्त तथ्याङ्क अनुसार, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन र निर्जीवन बीमा कम्पनीहरूले कुल ६३ अर्ब २९ करोड १९ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको ५२ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ को तुलनामा १९.७० प्रतिशत ले बढी हो। लामो समयसम्म एकल अंकको वृद्धिमा खुम्चिएको बीमा व्यवसाय अहिले दोहोरो अंकको ग्रोथमा फर्किएको छ, जसले आर्थिक शिथिलताबाट बजार सकारात्मक लयमा फर्किरहेको सङ्केत गर्दछ।

जीवन बीमामा आक्रामक वृद्धि

व्यवसाय बढाउनमा जीवन बीमा कम्पनीहरू निकै आक्रामक देखिएका छन्। समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले आफ्नो व्यापार २१.९५ प्रतिशत ले बढाएका छन्।

  • कुल शुल्क आर्जन: चालु आवको तीन महिनामा ५० अर्ब ३६ करोड ७३ लाख रुपैयाँ को व्यवसाय भित्र्याएका छन् (गत आवमा ४१ अर्ब ३० करोड १४ लाख रुपैयाँ)।

  • प्रथम बीमा शुल्कमा उछाल: नयाँ व्यवसाय अर्थात् प्रथम बीमा शुल्क आर्जनमा २१७.२४ प्रतिशत को उच्च वृद्धि भएको छ, जसबाट १० अर्ब ६६ करोड १५ लाख रुपैयाँ सङ्कलन भएको छ।

  • नवीकरण शुल्क: नवीकरण मार्फत ३९ अर्ब ७० करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ, जुन गत वर्षको तुलनामा २०.६१ प्रतिशत बढी हो।

  • बीमालेख जारी: कम्पनीहरूले समीक्षा अवधिमा १९ लाख ८३९ वटा नयाँ बीमालेख जारी गरेका छन्। हाल जीवन बीमा कम्पनीमा १ करोड ५९ लाख ९ हजार १३५ वटा बीमालेख सक्रिय छन्।

निर्जीवन बीमाको प्रगति

निर्जीवन बीमा व्यवसायको आकार पनि ११.६७ प्रतिशत ले वृद्धि भएको छ।

  • कुल शुल्क आर्जन: चालु आवको तीन महिनामा निर्जीवन कम्पनीहरूले १२ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ बराबरको व्यवसाय भित्र्याएका छन्।

  • बीमालेख बिक्री: निर्जीवन बीमालेख बिक्रीमा पनि ५.७८ प्रतिशत वृद्धि भई ७ लाख ८० हजार ६१३ पुगेको छ।

बीमाको पहुँचमा फड्को

व्यवसाय वृद्धिसँगै बीमाको दायरा पनि फराकिलो भएको छ। प्राधिकरणका अनुसार, हाल कुल जनसंख्याको ४९.०५ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका छन्, जुन एक वर्षको अवधिमा ६.२१ प्रतिशत ले थप भएको हो।

नेपालमा हाल १४ वटा ठूला र ३ वटा लघु जीवन बीमा कम्पनीहरू, र सोही अनुपातमा निर्जीवन बीमा कम्पनीहरू सञ्चालनमा छन्। बीमा बजारको यो दोहोरो अंकको वृद्धिले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।