तरुण खबर
२९ कार्तिक २०८२, शनिबार ११:२३
काठमाडौं । काठमाडौं महानगरपालिका (केएमसी) ले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सीसीटीभी क्यामरा नेटवर्कका लागि नेपाल टेलिकमसँग सहकार्य अगाडि बढाएको छ। यस सहकार्यले काठमाडौंलाई सुरक्षित र स्मार्ट सहर बनाउन प्रविधिको प्रयोगमा अन्तरसरकारी समन्वयलाई जोड दिएको छ।
महानगरको प्रशासन विभागका प्रमुख ध्रुव कुमार काफ्लेका अनुसार, महानगरपालिकाले वडा कार्यालयहरूमा जडान हुने सीसीटीभी नेटवर्कका लागि नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्क र एफटिटिएच (FTTH) मार्फत लोकल इन्ट्रानेट सेवा उपलब्ध गराउने गरी समन्वय अगाडि बढाएको हो।
सम्झौताअनुसार सीसीटीभी क्यामराले कैद गरेको दृश्यहरूलाई हरेक निगरानी कक्ष (Monitoring Room) सम्म पुर्याउने जिम्मेवारी नेपाल टेलिकमको हुनेछ। यसका साथै, टेलिकमले नेटवर्कको नियमित मर्मत सम्भार, आकस्मिक क्षतिको पुनःस्थापना, प्राविधिक सहयोग, सेवा विस्तार क्षमता र सेवा अवरुद्ध हुँदा तत्काल समस्या पहिचान गरी समाधान गर्ने लगायतका सेवाहरू पनि प्रदान गर्नेछ।
सहमतिकै आधारमा, सीसीटीभी क्यामरा र राउटर लगायतका आवश्यक उपकरणहरूको व्यवस्थापन महानगरपालिकाले गर्नेछ। टेलिकमले भविष्यमा आवश्यक पर्ने उच्च गतिको ब्यान्डविथ उपलब्ध गराउने र प्रविधिको परिवर्तनलाई नियमित रूपमा अद्यावधिक गर्ने प्रतिबद्धता जनाएको छ।
प्रमुख काफ्लेले प्रविधिको प्रयोगमार्फत सहरलाई सुरक्षित र व्यवस्थित बनाउन अन्तरसरकारी समन्वय र सहकार्यका माध्यमबाट नतिजामूलक काम अघि बढाएको बताए।


