व्यवसायीहरूको व्यथा र सरकारी सहयोगको अपेक्षा

व्यवसायीहरूको व्यथा र सरकारी सहयोगको अपेक्षा तरुण खबर ४ फाल्गुन २०७७, मंगलवार ११:३८
व्यवसायीहरूको व्यथा र सरकारी सहयोगको अपेक्षा

ऋषिकेश तिमल्सिना

२००७ मा स्थापित नेपाल चेम्बर अफ कमर्स नेपालको सबैभन्दा पुरानो र अग्रणी वाणिज्य संगठन हो । २०७५ मा गठन भएको ललितपुर चेम्बर अफ कमर्स नेपाल चेम्बर अफ कमर्सको ७२औं शाखा हो । वि.सं २०१२ (सन् १९५५) मा नेपाल चेम्बर अफ कमर्सले उद्योग र वाणिज्यसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । चेम्बर स्थापना भएदेखि नै वाणिज्य क्षेत्रको विकास र आर्थिक समृद्धि तथा अन्य व्यावसायिक गतिविधिका क्षेत्रमा यस संस्थाले अग्रणी एवं महत्वपूर्ण भूमिका खेल्दै आएको छ । कमर्सले प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्स, वस्तुगत संघ, आवद्ध संघलगायत द्विपक्षीय वाणिज्य तथा उद्योग संघहरूको प्रतिनिधित्व गर्दछ भन्ने हामी सबैले बुझेका छौं ।

नेपाल चेम्बर अफ कमर्सले ७० वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सहरूसँग आर्थिक क्रियाकलाप विस्तार गर्न समझदारी पत्रमार्फत सम्बन्ध स्थापित गरिसकेको छ । २००७ मा वणिक मण्डल नामाकरण भएकोमा २००९ असोज २७ गते अखिल नेपाल व्यापार संघको नामबाट यो संस्था दर्ता भएको थियो । २०१० कात्तिकमा प्रथम साधारणसभाले नाम परिवर्तन गरी नेपाल चेम्बर अफ कमर्स नामाकरण गरेको हो ।

यस्तो प्रतिष्ठित संस्थाको कार्यकारी समितिको सदस्य हुन पाउनु मेरो मात्र होइन, हामी सबैको सौभाग्य हो । आदरणीय र सम्मानित व्यवसायी पुष्परत्न शाक्यलाई हामीले अध्यक्षका रूपमा पाएका छौं । उहाँको सक्रियता र आर्थिक पेसा तथा व्यवसायका सम्बन्धमा स्पष्ट दृष्टिकोणले ललितपुर चेम्बर अफ कमर्सले गति लिने विश्वास गर्न सकिन्छ । यो छोटो अवधिमा ललितपुर चेम्बर अफ कमर्सले धेरै काम गरेको छ, तर चाहेजति काम भने अझै गर्न सकेका छैनौं । किनभने संस्थाले काम गर्न खोज्दाखोज्दै कोभिड–१९ को महामारीले ललितपुरलाई मात्र होइन, सिंगो मुलुकलाई नै आक्रान्त बनायो । विश्वको आर्थिक सूचकांक नै नकारात्मक विन्दुतर्फ धकेलेको कोभिडले अल्पविकसित मुलुक नेपालमा पारेको प्रभाव, आर्थिक तथ्यांकहरू र व्यावहारिक अनुभवमार्फत पुष्टि भइसकेको छ ।  ।

ललितपुरको समृद्धिमा व्यवसायीको योगदान

नेपालको इतिहासको मध्ययुगमै विकसित भइसकेको ललितपुर नगरको ऐतिहासिक र धार्मिक महत्व आज झनै बढेर गएको छ । ललितपुरको एक तिहाइ भाग काठमाडौं उपत्यका र दुई तिहाइ भाग पहाडी क्षेत्रबाट बनेको छ । ललितपुर नगर समुद्री सतहबाट १,३४१ मिटर अर्थात् ४,४०० फिट उचाइमा छ । ललितपुर नगर सम्भवतः नेपालकै पुरानो सहर हो । ललितपुर महानगरका अनुसार युपग्राम, ललितपत्तन, ललितापुरी, मानिंगल आदि नाम हुँदै ललितपुर नामाकरण भएको हो । साहित्यिक स्रोत र जनश्रुतिअनुसार ललितपुर सहर किरातकालमै स्थापना भइसकेको थियो ।

जनश्रुतिअनुसार ललितपुरको अर्को नाम ‘यल’ हो । यो नाम पहिलो किराती राजा यलम्बरको नामबाट राखिएको हो भनिन्छ । यो क्षेत्र प्राचिन तथा मध्यकालमा बौद्ध धर्म र संस्कृतिको केन्द्रको रूपमा विकास हुनुको साथै कला र संस्कृतिको दृष्टिबाट महत्वपूर्ण केन्द्रको रूपमा रहिरह्यो । यसैले आज यस नगरलाई सिटी अफ फाइन आर्टस्को नामले पनि चिनिन्छ । यस्तो गौरवमय इतिहास भएको नगरका हामी व्यवसायी बन्न पाएका छौं, हामीले यो नगरको गरिमा बढाउन सक्यौं भने हामीलाई पनि महानगरले सम्मानित नागरिकको नजरले हेर्नेछ । व्यापारीले इमान्दारीपूर्वक कर तिरे भने मात्र केन्द्र सरकार र महानगरले विकास–निर्माणको काम गर्ने हो । नेपाल संघीय शासनमा चलेको मुलुक भएकाले स्थानीय तहहरू शक्तिशाली छन् । यसर्थ, महानगर वा नगरपालिका वा गाउँपालिकासँग पेसा व्यवसायीहरूको हार्दिक सम्बन्ध हुन आवश्यक छ ।

राजनीतिक नेता, सरकारी कर्मचारी र व्यवसायीहरूको हार्दिक सम्बन्धले मात्र मुलुकले लाभ उठाउन सक्छ भन्ने कुरामा सरकारी अधिकारीहरूले ख्याल गर्न सकेको देखिएको छैन । हामी व्यापारीहरू यसमा सुधार आउनुपर्छ भन्ने चाहन्छौं ।

त्यसैले महानगरभित्रका सरकारी कार्यालय, कर्मचारी र व्यवसायीहरूले एकअर्कालाई सहयोगात्मक भावनाका साथ काम अगाडि बढाउनुपर्छ । हामी व्यवसायी र कर्मचारी एकअर्काको प्रतिस्पर्धी होइनौं । किनभने हाम्रो कार्यक्षेत्र नै फरक–फरक छ । तर अनुगमनका नाममा सरकारी अधिकारीहरूले व्यापारीहरूलाई अनावश्यक दुःख दिने गरेको गुनासो आउने गरेको छ । सरकारी अधिकारीहरूले नै अनधिकृत काम गर्न व्यापारीहरूलाई प्रोत्साहन गर्ने र पछि तिनै अधिकारीहरूले व्यापारीलाई व्यासाय छोड्न बाध्य पार्ने अवस्था पनि कतिपय व्यापारीले भोग्नुपरेको छ । राजनीतिक नेता, सरकारी कर्मचारी र व्यापारीहरूको हार्दिक सम्बन्धले मात्र मुलुकले लाभ उठाउन सक्छ भन्ने कुरामा सरकारी अधिकारीहरूले ख्याल गर्न सकेको देखिएको छैन । हामी व्यवसायीहरू पनि यसमा सुधार आउनुपर्छ भन्न चाहन्छौं ।

ललितपुरको औद्योगिक अवस्था

२०२२ को औद्योगिक गणनाअनुसार काठमाडौंमा १९६ उद्योग हुँदा ललितपुरमा ६७ वटा सानाठूला उद्योग थिए । काठमाडौं, भक्तपुर र ललितपुरमा त्यसबेला २८५ मात्र उद्योग थिए । अहिले कति छन् ? सायद गणना हुनै बाँकी छ कि । सूचना विभागले २०३१ सालमा प्रकाशित गरेको मेचीदेखि महाकालीका अनुसार २०२० सालमा स्थापना भएको पाटन औद्योगिक क्षेत्र नेपालकै दोस्रो औद्योगिक क्षेत्र हो । स्थापनाकालमा औद्योगिक क्षेत्रभित्र २२ उद्योग थिए । त्यसबेला पाटनमा खुद्रा तथा थोक बिक्रेताको संख्या साना–ठूला गरी करिब एक हजारवटा थिए । तर अहिले हजारौंको संख्यामा खुद्रा तथा थोक बिक्रेताहरू छन् । बजार विस्तार हुनु हामी व्यवसायीका लागि खुसीको कुरा हो । व्यापार विस्तारसँगै अनेकौं विकृति देखापर्छन्, त्यो पनि स्वाभाविक हो । राजधानीको विभिन्न घना बस्ती भएको ठाउँमा ठूला कम्पनीहरूले साना व्यवसायीहरूलाई विस्थापित गर्ने गरी सपिङ महहरू खोलेका छन् । उदाहरणका लागि भाटभटेनी, बिगमार्ट, सेल्सबेरी र सेल्सवेज डिपार्ट मेन्ट स्टोरहरूले खुद्रा व्यापारीहरूलाई कति नोक्सान पु¥याइरहेका छन् भन्ने कुरामा सायद कसैले अनुसन्धान गरेको छैन ।

एकै ठाउँमा खाद्यान्न, लत्ताकपडा, कस्मेटिक सामान, फ्रिज, वासिङ मेसिनजस्ता अत्यावश्यक सामान लिन सजिलो हुने भएकाले मान्छेहरूको आकर्षण डिपार्टमेन्ट स्टोरहरूमा बढ्दै गएको छ । जुनसुकै ठाउँको क्रेता वा उपभोक्ताले खरिद गरेको भए पनि स्थानिय साना व्यापारीहरूले ती ग्राहकबाट लाभ पाउन सक्थे, तर डिपार्टमेन्ट स्टोरहरूप्रतिको आकर्षण वा विश्वासले साना व्यापारीले लाभ पाउन सकेका छैनन् । विस्तारै डिपार्टमेन्ट स्टोरहरूमा सामान खरिद गर्ने बानीले साना व्यापारी विस्थापित हुँदै जान्छन् भन्ने कुरा हामीले बुभ्mन जरुरी छ । किनभने नेपालीमा एउटा बहुप्रचलित उखान छ– ठूलो माछाले साना माछा खान्छ । यो त्यही प्रवृत्ति हो ।

परम्परागत व्यापार, बढ्दो घरभाडा, अव्यवस्थित बजारीकरणजस्ता अनेकौं समस्या व्यहोर्न साना व्यापारीहरू बाध्य छन् । नयाँ प्रविधिबारे परम्परागत व्यापारीहरूलाई जानकारी नहुनु, पसलमा अलिकति भिड बढ्नेवित्तिकै घरबेटीले भाडा बढाउनु, अव्यवस्थित ढंगले यत्रतत्र पसल राख्न दिनु, सडक–पेटी, ठेलागाडामा व्यापार गर्न दिने कुराले भाडामा पसल राख्ने व्यापारीहरूलाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा असर पारिरहेको हुन्छ । परम्परागत व्यापारमा थोक बिक्रेताबाट उधारोमा सामान लिएर बिक्री भएपछि मात्र रकम तिर्ने चलन थियो, खुद्रा बिक्रेताले आप्mनो लगानी खासै लगाउनुपर्ने अवस्था थिएन । अहिले हरेक व्यापारीले बैंक वा फाइनान्स वा सहकारीबाट ऋण लिएका हुन्छन् । सायद कुनै न कुनै रूपमा ऋण नलिएका व्यापारी पाउनै सकिँदैन ।

कसैकसैले त चारवटासम्म सहकारीबाट ऋण लिएका हुन्छन् । तर यस विषयमा कुनै पनि निकायले जिम्मेवारीपूर्वक हेर्ने गरेको पाइँदैन । कोभिडका कारण ९५ प्रतिशत साना व्यापारी घाटामा गएका छन्, तर सरकारले करमा कुनै छुट दिएको छैन । एक वर्षको सम्पूर्ण कर मिनाह गर्न सरकारलाई दबाब दिनु हाम्रो पहिलो काम हो भन्ने मलाई लाग्छ । सरकारलाई दबाब दिनका लागि कुशल व्यवस्थापक आवश्यक छ । ललितपुर महानगरले यसको व्यवस्थापनको काम कुशलतापूर्वक गरिदियोस् भन्ने व्यापारीहरूको अपेक्षा हुनु स्वाभाविक छ । किनभने व्यापारीहरूले सरकारलाई कर तिरिरहेका छन्, तिर्न पनि तयार छन् । करिब एक वर्ष कोभिड–१९ ले महामारीको रूप लिएकाले व्यापारीहरूले सरकारबाट सहयोगको अपेक्षा गरेका हुन् । अर्को कुरा, कर तिर्दा पनि झन्झटिलो प्रक्रियालाई कसरी सहज बनाउन सकिन्छ भन्ने हामी सबैको चिन्ताको विषय बन्न आवश्यक छ । किनभने हामी व्यापारीले त्यो झन्झटिलो प्रक्रिया व्यहोर्दै आएका छौं । ललितपुर चेम्बरको स्मारिकाबाट

(तिमल्सिना ललितपुर जिल्ला चेम्बर अफ कमर्सका सदस्य हुन्)