दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपतिद्वारा आत्मसमर्पण

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपतिद्वारा आत्मसमर्पण तरुण खबर २९ असार २०७८, मंगलवार १०:३१
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपतिद्वारा आत्मसमर्पण

काठमाडौं । अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले आम नागरिकलाई ’’हिंसाविरुद्ध उभिन’’ आह्वान गरेका छन् । पूर्व राष्ट्रपति जेकब जुमा जेल परेसँगै दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शनहरू भइरहेका छन् । गत हप्ता जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेसँगै कम्तीमा ६ जनाको मृत्यु भएको छ भने झन्डै ५ सय जना पक्राउ परेका छन् । पसलहरू लुटिएका छन् भने भवनहरू आगजनीमा परेका छन् ।

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकब जुमाले गरे प्रहरीसमक्ष आत्मसमर्पण गर्दै म भ्रष्टाचारको राजा होइन भनेका थिए । खावटेयाङ राज्य र जुमाको गृह राज्य क्वाजुलु नटालमा सुरक्षा फौज परिचालन गरिएको छ । भ्रष्टाचारसम्बन्धी एउटा अदालती सुनुवाइमा उपस्थित नभएका कारण उनलाई अदालतको अपहेलनामा दोषी ठह¥याइएको थियो । भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमालाइ १५ महिनाको जेल सजाय सुनाइएको बीबीसी न्यूजमा उल्लेख छ । संवैधानिक अदालतले आफ्नो सजाय फिर्ता लिने वा कम गरिदिने उनले अपेक्षा गरिरहेका छन् । तर त्यस्तो हुने सम्भावना भने कम रहेको कानुनका ज्ञाताहरूले बताइरहेका छन् ।

राष्ट्रपति रामाफोसाले हिंसाबाट टाढा रहन र देशलाई अस्थिर बनाउन चाहनेविरुद्ध दृढ रूपमा उभिन सर्वसाधारणहरूलाई आग्रह गरेका छन् । एउटा टेलिभिजन सम्बोधनका क्रममा रामापोसाले दक्षिण अफ्रिकामा सन् १९९० को दशक यता देखिएको अप्रिय हिंसाका रूपमा पछिल्लो घटनालाई व्याख्या गरेका थिए । जुमालाई जुन २९ तारिखमा आफ्नो नौ वर्षे कार्यकालका बेला भएको भ्रष्टाचारसम्बन्धी सुनुवाइका क्रममा सबुत पेस गर्न दिइएको आदेश नमानेको आरोपमा १५ महिना लामो जेल सजाय सुनाइएको थियो । दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपतिलाई जेलसजाय सुनाइएको यो नै पहिलो पटक हो ।

जुमाको नेतृत्वका बेला निर्णय लिने प्रक्रिया प्रभावित पार्नका लागि राजनीतिज्ञहरूसँग साठगाँठ गरेको व्यापारीहरूमाथि आरोप लगाइएको छ । तर जुमाले भने बारम्बार आफू राजनीतिक षडयन्त्रको सिकार हुन पुगेको बताउँदै आएका छन् । सन् २०१८मा उनलाई आफ्नै दलले पदबाट बाहिरिन बाध्य पारेको भए पनि समर्थकहरूको एउटा पक्षलाई आफूसँगै राख्न उनी सफल भएका थिए ।