तरुण खबर
१ मंसिर २०८२, सोमबार ११:०९
काठमाडाैं, १ मंसिर । गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन अर्थमन्त्री रामेश्वरप्रसाद खनाल समक्ष पेश गरेका छन्। अर्थ मन्त्रालयमा आज आयोजित सङ्क्षिप्त कार्यक्रममा गभर्नर पौडेलले प्रतिवेदन बुझाएका हुन्।
तीन खण्डमा विभाजित उक्त वार्षिक प्रतिवेदनमा पहिलो खण्डमा आर्थिक वर्षको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति, दोस्रो खण्डमा बैंकको कामकाज विवरण र तेस्रो खण्डमा गत आर्थिक वर्षको वित्तीय विवरण समावेश गरिएको छ। वित्तीय विवरणमा अन्तिम लेखापरीक्षणका विवरणहरू समेत राखिएको छ।
प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०८१/८२ मा विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभ/हानि समायोजनअघिको खुद आय अघिल्लो वर्षको तुलनामा वृद्धि भई रु. ८० अर्ब ४८ करोड २६ लाख ५० हजार पुगेको छ।
राष्ट्र बैंक सञ्चालक समितिको मिति २०८२ कात्तिक २८ को बैठकले बैंकका विभिन्न कोषहरूमा आवश्यक रकम छुट्टयाएर बाँकी रु. ४२ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ। २०८२ असार मसान्तसम्मको वित्तीय स्थितिअनुसार बैंकको सम्पत्ति तथा दायित्व २८.२३ प्रतिशत वृद्धि भई रु. २६ खर्ब १ अर्ब २३ करोड ८५ लाख ४० हजार पुगेको प्रतिवेदनमा उल्लेख छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार, बैंकले वासलात, आय–व्यय तथा सम्बन्धित विवरण वार्षिक प्रतिवेदन तयार गरी आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र नेपाल सरकारसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ। साथै, ऐनको दफा ३(१) मा बैंकको लेखापरीक्षण, कामकाज र आर्थिक–वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन नेपाल सरकारसमक्ष पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।


