तरुण खबर
१ मंसिर २०८२, सोमबार ११:१४
काठमाडाैं, १ मंसिर । नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको आम्दानी र खुद मुनाफा दुवैमा गत वर्षको सोही अवधिको तुलनामा गिरावट आएको छ ।
मुख्य वित्तीय सूचकहरू (असाेज मसान्तसम्म):
| विवरण | चालू आव (रू.) | गत आव (रू.) | प्रतिशत परिवर्तन |
| कुल आय | ९ अर्ब ४७ करोड १० लाख ५१ हजार | १० अर्ब ६ करोड ३७ लाख ३५ हजार | ५.८९% कमी |
| खुद मुनाफा | १ अर्ब ३२ करोड ५१ लाख ७५ हजार | १ अर्ब ७३ करोड ९५ लाख ९० हजार | २३.८२% कमी |
| कर अघिको मुनाफा | २ अर्ब ८८ करोड २१ लाख १६ हजार | (उल्लेख छैन) | १८.९०% कमी |
| प्रति शेयर आम्दानी (EPS) | रु. २९.४५ | (उल्लेख छैन) | – |
कम्पनीको खुद मुनाफा २३.८२ प्रतिशतले घटेको छ भने कुल आय ५.८९ प्रतिशतले कम भएको छ ।
नाफा घट्नुका प्रमुख कारणहरू:
कम्पनीको आय तथा मुनाफामा आएको परिवर्तनको मुख्य कारणहरू निम्न छन्:
ओटीटी सेवाको असर: ओटीटी सेवाहरूको (जस्तै: भाइबर, ह्वाट्सएप) व्यापक प्रयोगले गर्दा विदेशबाट हुने आगमन कलको परिमाणमा असर पुग्यो, जसले अन्तरआवद्धता आयमा १७.२९ प्रतिशतले (करिब रु. १० करोड ९७ लाख ४२ हजार) कमी ल्यायो ।
ब्याज आम्दानीमा गिरावट: बजारमा ब्याजदरमा आएको ह्रासका कारण मुद्दती निक्षेपबाट प्राप्त ब्याज आम्दानीमा ४९ प्रतिशतले कमी आएको छ, जसले गर्दा कुल ब्याज आम्दानीमा ५० करोडसम्मको गिरावट आयो ।
कर्मचारी खर्चमा वृद्धि: कर्मचारी बीमा खर्च रु. १.९५ करोडले बढ्नुका साथै पेन्सन योजनाको दायित्व गणनाको लागि डिस्काउन्ट दर (७.५५ बाट ७५) समायोजन गर्दा कर्मचारी अवकाशसम्बन्धी खर्च रु. १६.५ करोडले बढेको छ । यसले कुल कर्मचारी खर्चमा रु. ८.८ करोडले वृद्धि ल्याएको छ ।
टेलिकमले राष्ट्रको सञ्चार भएकाले बढी लागत र कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र यसले पनि लागत बढाइरहेको स्पष्ट पारेको छ ।


