तरुण खबर
३ मंसिर २०८२, बुधबार ११:२६
काठमाडाैं, ३ मंसिर । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई सफल बनाउन र सरकारका प्राथमिकताहरूमा राजनीतिक सहमति जुटाउन आज (बुधबार) प्रमुख राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, यो महत्त्वपूर्ण बैठक आज दिउँसो ४:०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ।
फागुनको निर्वाचन मुख्य एजेन्डा
गत भदौ १२ गतेदेखि अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री कार्कीको मुख्य प्रतिबद्धता आगामी फागुन ५ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउनु रहेको छ। यो छलफल विशेषगरी निर्वाचनको तयारी, यसका लागि आवश्यक कानूनी तथा प्रशासनिक सहयोग र सरकारका प्रमुख कार्यसूचीहरूमा राजनीतिक दलहरूको समर्थन जुटाउन केन्द्रित रहनेछ। निर्वाचनको वातावरण बनाउने प्रयासस्वरूप प्रधानमन्त्री कार्कीले दलहरूसँग बारम्बार संवाद गर्दै आउनुभएको छ।
अन्तरिम सरकारले लिएका कदम र विशेषगरी निर्वाचन सुनिश्चितताका लागि सबै राजनीतिक शक्तिहरूबीच विश्वासको वातावरण निर्माण गर्ने दिशामा आजको बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।


