तरुण खबर
४ फाल्गुन २०७७, मंगलवार ११:४१
काठमाडौं । म्यान्मारमा कू विरुद्ध प्रदर्शन गरिरहेकाहरूले सशस्त्र बलहरू माथि अवरोध खडा गरेमा प्रदर्शनकारीहरूले २० वर्ष सम्मको जेल सजाय भोग्नुपर्ने हुन सक्ने सेनाले चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ । सैन्य नेतृत्वप्रति “घृणा वा अवहेलना“ फैलाएको पाएमा उनीहरूलाई लामो जेल सजायका साथै जरिवाना समेत गराइने सेनाले जनाएको छ । सैनिक शासक नेतृत्वले सञ्चारकर्मीहरूलाई सेनाको कदमलाई कू का रूपमा व्याख्या नगर्न भनिएको छ । सैन्य सरकारले पक्राउ गर्न सक्ने, खोजतलास गर्न सक्ने र मानिसहरूलाई अदालतको आदेश बिनै २४ घण्टासम्म पक्राउ गर्न सक्ने अधिकार शनिवार आफैलाई प्रत्यायोजन गरेको छ ।
म्यान्मारका विभिन्न सहरहरूमा हतियार सहितका गाडीहरू गुडिरहेका बेला कानुनमा भएका परिवर्तनको घोषणा गरिएको हो । सेनाले गरेको उक्त कू विरुद्ध पछिल्ला दिनहरूमा विभिन्न सहरहरूमा हजारौँ सर्वसाधारणहरू प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले आफ्नै निवासमा नजरबन्दमा रहेकी नेत्री आङ सान सू चीको रिहाइ र प्रजातन्त्रको पुर्नबहालिको माग गरिरहेका छन् । सोमवार सू चीका वकिलले उनलाई थप दुई दिन हालकै अवस्थामा राखिने जानकारी दिए । उनीमाथि गैरकानुनी रूपमा आफ्नो सुरक्षार्थ खटिएका कर्मचारीहरूले प्रयोग गर्ने वाकिटकी राखेको लगायतका आरोप लगाइएको छ । एउटा दूरसञ्चार प्रदायकले म्यान्मारमा लगातार दोस्रो रात इन्टरनेट सेवा अवरुद्ध पारिएको बताएको छ ।
सेनाले बोलेर, लेखेर वा साङ्केतिक सहित जुनसुकै रूपमा आफूहरूप्रति घृणा बढाउने काम गरेको पाए लामो जेल सजाय सहित जरिवानाको व्यवस्था गरिएको जनाएको छ । आफ्नो वेबसाइटमा प्रकाशन गरिएको विज्ञप्तिमा उसले सुरक्षा निकायको काम कारबाहीमा अवरोध खडा गरेमा २० वर्ष सम्म जेल सजाय हुन सक्ने उल्लेख गरेको हो । त्यस्तै सर्वसाधारणहरूमा डर वा अशान्ति पैदा गर्न खोजेको पाइएमा तीनदेखि सात वर्षसम्म जेल सजाय हुन सक्ने बताइएको छ ।


