बूढीगण्डकी र अपर अरुणमा स्वदेशी लगानीको नयाँ मोडालिटी, ऊर्जा सुरक्षामा महत्त्वपूर्ण फड्को

बूढीगण्डकी र अपर अरुणमा स्वदेशी लगानीको नयाँ मोडालिटी, ऊर्जा सुरक्षामा महत्त्वपूर्ण फड्को तरुण खबर १० मंसिर २०८२, बुधबार १०:५०
बूढीगण्डकी र अपर अरुणमा स्वदेशी लगानीको नयाँ मोडालिटी, ऊर्जा सुरक्षामा महत्त्वपूर्ण फड्को

काठमाडाैं, १० मंसिर । धादिङ र गोरखामा बन्ने राष्ट्रिय गौरवको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना (१२०० मेगावाट) र सङ्खुवासभामा निर्माण हुने अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना (१०६३ मेगावाट) को लगानी सुनिश्चित गर्न र ऊर्जा सुरक्षालाई मजबुत बनाउन सरकारले महत्त्वाकांक्षी वित्तीय मोडालिटी तयार पारेको छ। यी दुई ठूला आयोजनामा स्वदेशी स्रोत र सर्वसाधारणको सहभागितालाई प्राथमिकता दिइएको छ।

 बूढीगण्डकी जलविद्युत आयोजना: लगानीको खाका

बूढीगण्डकी आयोजनाको आधारभूत लागत $२.७७ अर्ब डलर (करिब ३ खर्ब ७४ अर्ब रुपैयाँ) रहेको छ। निर्माण अवधिको ब्याज (३२ अर्ब) सहित कूल लागत ४ खर्ब ६ अर्ब रुपैयाँ अनुमान गरिएको छ।

  • कर्जा र इक्विटी अनुपात: ७०:३० प्रतिशत।

  • प्रवर्धक: बूढीगण्डकी कम्पनी लिमिटेड।

    • नेपाल सरकारको शेयर: ८०%

    • नेपाल विद्युत प्राधिकरणको शेयर: २०%

  • सरकारको कुल लगानी (प्रस्तावित): २ खर्ब ४८ अर्ब रुपैयाँ (इक्विटी वापत ९७ अर्ब ४७ करोड र सहुलितपूर्ण कर्जा वापत १ खर्ब ५० अर्ब)।

  • अन्य स्रोत:

    • ऊर्जा बण्ड: वित्तीय लागत घटाउन सरकारको सहजीकरणमा अनिवार्य तरलता अनुपातमा गणना हुने गरी ३० अर्ब रुपैयाँको ऊर्जा बण्ड जारी गरिने। (बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र सार्वजनिक कोषले खरिद गर्न सक्ने)।

    • कर्जा प्रवाह: बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ४ अर्ब रुपैयाँ ऋण प्रवाह हुने (कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी, एचआइडिसिएल, नेपाल टेलिकम लगायतको सहवित्तीयकरणमार्फत)।

    • पूर्वाधार करको उपयोग: पेट्रोलियम पदार्थको आयातमा लाग्दै आएको पूर्वाधार करको ५० प्रतिशत रकम आयोजनामा लगानीका लागि छुट्याउने प्रस्ताव गरिएको छ।

  • उत्पादन: वार्षिक ३ अर्ब ३८ करोड युनिट (हिउँदयाममा १.४१ अर्ब र वर्षायाममा १.९७ अर्ब युनिट)।

  • वार्षिक आम्दानी: विद्युत उत्पादन सुरु भएपछि वार्षिक ३१ अर्ब ४८ करोड रुपैयाँ आम्दानी हुनेछ।

आयोजनाको जग्गा प्राप्तिको प्रगति करिब ९० प्रतिशत पुगिसकेको छ र ४२ अर्ब ६५ करोड मुआब्जा वितरण भइसकेको छ। यसले आयोजना निर्माणको चरणमा प्रवेश गर्न सहज भएको छ।

अपर अरुण जलविद्युत आयोजना: जनसहभागितामा जोड

सङ्खुवासभामा बन्ने अपर अरुण आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित १ अर्ब ७५ करोड डलर (करिब २ खर्ब १४ अर्ब रुपैयाँ) रहेको छ।

  • कर्जा र इक्विटी अनुपात: ७०:३० प्रतिशत।

  • इक्विटी विभाजन:

    • संस्थापन शेयर (५१%): ३६ अर्ब ६७ करोड रुपैयाँ

    • साधारण सेयर (४९%): ३५ अर्ब २३ करोड रुपैयाँ

  • संस्थापक शेयरधनी (५१%): प्रदेश सरकार तथा स्थानीय तह, प्राधिकरण, नेपाल टेलिकम, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, एचआइडिसिएल, बीमा कम्पनी र प्राधिकरणका सहायक कम्पनीहरू।

  • साधारण शेयरधनी (४९%): वैदेशिक रोजगारमा रहेका तथा गैह्र आवासीय नेपाली, संस्थापक सेयरधनी संस्थाका कर्मचारी, आयोजना प्रभावित र आम सर्वसाधारण।

  • कर्जा लगानी: बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमार्फत १ खर्ब ६८ अर्ब रुपैयाँ लगानी हुने।

    • विश्व बैंकको लगानी अन्यौलमा परेपछि यो आयोजना स्वदेशी स्रोतबाटै अगाडि बढाउने तयारी छ।

  • उत्पादन: वार्षिक रुपमा ४ अर्ब ५३ करोड युनिट विद्युत उत्पादन हुनेछ।

भौगोलिक रुपमा विकट रहे पनि हाल २१ किलोमिटर पहुँच सडक लगायत निर्माणपूर्वका काम भइरहेका छन्। स्वदेशी बैंक तथा वित्तीय संस्थाहरुसँग ५३ अर्ब लगानीका लागि समझदारी भइसकेको छ।

रणनीतिक महत्त्व

बूढीगण्डकी आयोजना काठमाडौं, चितवन र पोखरा जस्ता मुख्य विद्युत भार (लोड) सेन्टरबाट नजिक रहेकाले ऊर्जा सुरक्षाको दृष्टिकोणबाट यसको रणनीतिक महत्त्व उच्च छ। जलाशययुक्त आयोजना भएकाले यसले हिउँदयाममा नेपालको विद्युत माग धान्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। अपर अरुणको निर्माणले पनि देशको समग्र विद्युत उत्पादन क्षमतामा ठूलो हिस्सा थप्नेछ।

यी दुवै आयोजनाको सफल कार्यान्वयनले नेपालको ऊर्जा क्षेत्रमा स्वदेशी लगानीको उच्चतम परिचालन गरी राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्याउने अपेक्षा गरिएको छ।