तरुण खबर
१२ मंसिर २०८२, शुक्रबार ११:०८
काठमाडाैं, १२ मंसिर । नेपाल वायुसेवा निगम (नेवानि) मा रिक्त महाप्रबन्धक पदका लागि १६ जनाले प्रतिस्पर्धा गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिने सूचना जारी गर्दै कात्तिक २७ देखि आवेदन खुला गरेको थियो। बिहीबार कार्यालय समयसम्म परेका सबै आवेदनको संख्या मन्त्रालयले सार्वजनिक गरेको हो।
मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार अब ‘नेवानि महाप्रबन्धक छनोट कार्यविधि–२०८२’ बमोजिम प्रक्रिया अघि बढ्नेछ। आइतबारदेखि सिलबन्दी दरखास्त खोल्ने तयारी भइरहेको बताइएको छ।
महाप्रबन्धकका लागि यसपटक विविध पृष्ठभूमिका व्यक्तिहरू प्रतिस्पर्धामा उत्रिएका छन्। नागरिक उड्डयन प्राधिकरणका पूर्व कर्मचारी, नेवानिका पूर्व–निर्देशक, हवाई क्षेत्रका विज्ञ, इन्जिनियर तथा नयाँ अनुहारसमेतले आवेदन दिएका छन्।
छनोट समितिको संयोजकता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले गरेका छन्। समितिले योग्यता पुगेका उम्मेदवारहरूको सर्टलिस्ट बनाइ कार्यपत्र प्रस्तुति, अन्तर्वार्ता र अन्य मूल्यांकन चरण अघि बढाउनेछ।
मन्त्रालयका अनुसार मूल्यांकनका आधारमा उपयुक्त ठहरिएका तीन जनाको नाम सिफारिस गरिनेछ। तीमध्ये एक जनालाई आगामी चार वर्षका लागि नेपाल वायुसेवा निगमको महाप्रबन्धक नियुक्त गरिनेछ। नेवानिको संगठन सुधार, फ्लीट विस्तार तथा सेवा गुणस्तर उकास्ने अपेक्षासहित महाप्रबन्धक चयन प्रक्रियाले ध्यान खिचेको छ। नयाँ नेतृत्वबाट निगममा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरिएको छ।


