तरुण खबर
१२ मंसिर २०८२, शुक्रबार ११:१२
काठमाडाैं, १२ मंसिर । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सेवा औपचारिक रूपमा सुरु गर्ने भएको छ। यस सुविधामार्फत बैंकले अनलाइन मर्चेन्टहरूलाई अक्वायर गरी भौतिक मर्चेन्टझैँ भिसा र मास्टरकार्डमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भुक्तानी स्वीकार गर्न सक्षम बनाउनेछ।
ई–कमर्स प्रवद्र्धन लक्ष्यसहित ल्याइएको यो पेमेन्ट गेटवेले थ्रीडी–सेकियोर प्रविधि प्रयोग गर्ने भएकाले अनधिकृत कारोबारको जोखिम कम हुने तथा ग्राहकका कार्ड भुक्तानी अझ सुरक्षित बन्ने बैंकले जनाएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भुक्तानी स्वीकार गर्न सकिने भएकाले अनलाइन व्यापारमा संलग्न मर्चेन्टहरूको व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। अनलाइन वा ई–कमर्समा आधारित मर्चेन्टहरूले आवश्यक कागजी प्रक्रिया तथा प्राविधिक तयारीसहित बैंकसँग समन्वय गरेर उक्त सेवा आफ्नै पोर्टलमा इन्टिग्रेट गर्न सक्नेछन्।
एनएमबि बैंकले यसअघि नै एनसीएचएलमार्फत ईसीसी, आईपीएस, आरपीएस, नेपालपे क्युआर, कनेक्ट–आईपीएस, कर्पोरेटपेलगायतका डिजिटल सेवाहरू प्रदान गर्दै आएकोमा अहिले अनलाइन पेमेन्ट गेटवे थपिएसँगै बैंकको डिजिटल क्षमता झन् सुदृढ भएको छ।
एनसीएचएलले हाल १४ वटा बैंक तथा वित्तीय संस्थालाई घरेलु तथा अन्तर्राष्ट्रिय कार्ड कारोबारमा आवश्यक होस्टिङ, स्विचिङ र अनलाइन पेमेन्ट सेवाहरू उपलब्ध गराइरहेको छ। एनएमबि बैंकको सहभागितासँगै डिजिटल भुक्तानी प्रणालीको दायरा अझ विस्तार हुने अपेक्षा गरिएको छ।
बैंकले देशभर ७७ जिल्लामा २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत ग्राहक सेवा प्रदान गर्दै आएको छ। नयाँ पेमेन्ट गेटवेले डिजिटल भुक्तानीमा थप सहजता र विश्वास बढाउने बैंकको विश्वास छ।


