तरुण खबर
१२ मंसिर २०८२, शुक्रबार ११:१७
काठमाडाैं, १२ मंसिर । काठमाडौं उपत्यकाका सडक खाल्डाखुल्डी तत्काल मर्मत गर्न ‘सडक मर्मत एम्बुलेन्स’ औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। नेपालमै पहिलोपटक सार्वजनिक रूपमा प्रयोगमा ल्याइएको यो सेवा बिहीबार ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले शुभारम्भ गरेका हुन्।
सडक डिभिजन कार्यालय, काठमाडौंको कार्यक्षेत्रभित्रका सामरिक महत्वका सडकहरूमा देखिएका खाल्डाखुल्डीलाई छिटोछरितो मर्मत गर्न यो एम्बुलेन्स निरन्तर प्रयोगमा रहनेछ। ३६५ दिन, २४ घण्टा तयारी अवस्थामा रहने एम्बुलेन्सले सहज र सुरक्षित आवागमन सुनिश्चित गर्ने लक्ष्य बोकेको छ।
सडकमा देखिएका समस्या तत्काल जानकारी गर्न मोबाइल एप पनि सार्वजनिक गरिएको छ। सो एपमार्फत नागरिकले खाल्डोको फोटो खिचेर अपलोड गर्न सक्नेछन्, जसपछि मर्मत सम्पन्न भएपछि अद्यावधिक विवरण पनि एपमै राखिने व्यवस्था छ।
कार्यक्रममा मन्त्री घिसिङले सडक एम्बुलेन्सलाई नेपालका अन्य मुख्य शहरहरूमा पनि विस्तार गरिने बताएका छन्। विकसित देशमा जस्तै अत्याधुनिक उपकरणसहितको प्रभावकारी मर्मत सेवा आवश्यक रहेको उल्लेख गर्दै उनले एम्बुलेन्स प्रणालीले सडक सम्बन्धी गुनासो तत्काल समाधान गर्ने विश्वास व्यक्त गरे।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा र सडक विभागका महानिर्देशक विजय जैशीले नयाँ प्रणालीले मर्मतका गुनासो तुरुन्त सम्बोधन गर्न मद्दत गर्ने बताए।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सेवा कार्यान्वयनले पारदर्शिता र प्रभावकारिता बढाउने बताए। सडक डिभिजन प्रमुख सुवोध कुमार देवकोटाका अनुसार तालिमप्राप्त प्राविधिक टोलीले एम्बुलेन्समार्फत घटनास्थलमा गएर तत्काल मर्मत कार्य सम्पन्न गर्नेछ। ट्राफिक व्यवस्थापनका लागि चेतावनी बत्ती र भीडभाडमा पनि आकस्मिक मर्मत गर्न सक्ने क्षमता एम्बुलेन्समा छ।


