माडी–ठोरी पुलमा अब नयाँ पहल

माडी–ठोरी पुलमा अब नयाँ पहल तरुण खबर १२ मंसिर २०८२, शुक्रबार ११:२३
माडी–ठोरी पुलमा अब नयाँ पहल

काठमाडाैं, १२ मंसिर । वर्षौंदेखि रोकिएको चितवनको माडी–ठोरी सडकखण्डअन्तर्गत पटारी खोलाको पुल निर्माण कार्यमा गतिशीलता ल्याउन सरकारले पुरानो ठेक्का रद्द गरेको छ। हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत वीरगञ्ज योजना कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै भरतपुर–आधारित लोहनी एण्ड ब्रदर्श प्रालिले काम अघि नबढाएकाले ठेक्का तोडिएको जानकारी दिएको हो।

४१ मिटर लामो पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी लामो समयदेखि काममा सक्रिय नदेखिएको र कम्पनीका प्रतिनिधिहरूसमेत सम्पर्कविहीन बनेपछि सरकारले कानूनी प्रक्रिया अगाडि सारेको निर्देशनालयले जनाएको छ।

निर्देशनालयले कम्पनीलाई १५ दिनभित्र कारण–बुझाउने मौका दिए पनि कुनै स्पष्टीकरण नआएपछि ठेक्का औपचारिक रूपमा रद्द गरिएको हो। अब सार्वजनिक खरिद ऐन अनुसार ठेकेदार कम्पनीको कार्यसम्पादन जमानत जफत गरिने, बाँकी रकम सरकारी बाँकी सरह असुल गरिने र कम्पनीलाई कालोसूचीमा राख्ने सिफारिस प्रक्रिया अघि बढाइनेछ।

ठेक्का रद्दसँगै पुल निर्माणमा नयाँ व्यवस्थापन र प्रभावकारी कामका लागि मार्ग प्रशस्त भएको स्थानीयवासी तथा सरोकारवालाले आशा व्यक्त गरेका छन्।