तरुण खबर
१२ मंसिर २०८२, शुक्रबार ११:५२
काठमाडाैं, १२ मंसिर । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षतिपछि बीमा कम्पनीमा कुल २३ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ बराबरको दाबी परेको छ। नेपाल बीमा प्राधिकरणका पछिल्ला तथ्याङ्क अनुसार हालसम्म ३ हजार २५५ वटा दाबी पेश भइसकेका छन्।
हालसम्म बीमा कम्पनीहरूले ४ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानीसहित बीमितलाई भुक्तानी गरिसकेका छन्, जसले कुल दाबीको करिब १७.१५ प्रतिशत पूरा भएको जनाउँछ।
आन्दोलनमा क्षति भएका ६९५ वटा घर तथा भवन सम्बन्धी दावी १९ अर्ब ३ करोड ४१ लाख रुपैयाँ रहेको छ। यसमा कम्पनीहरूले ३ अर्ब ९ करोड ४७ लाख रुपैयाँ भुक्तानी गरेका छन्।
सवारीधनीले पेश गरेका मोटर बीमा दाबी ३ अर्ब ४४ करोड १० लाख रुपैयाँ बराबरका २ हजार २९५ वटा रहेका थिए, जसमा हालसम्म ८४ करोड ८५ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।
इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ ५५ करोड ४ लाख रुपैयाँ बराबरका २०९ वटा दाबीमा करिब ६ करोड ६९ लाख रुपैयाँ भुक्तानी भइसकेको छ। परिवहन बीमामा १२ वटा दाबीमध्ये करिब ४८ लाख र अन्य बीमातर्फ ४४ वटा दाबीमा करिब ३९ लाख रुपैयाँ भुक्तानी गरिएको तथ्यांक छ।
नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई २ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ अग्रिम भुक्तानी सहित दाबी पेश गरेको छ। कुल २ हजार ८६० वटा पुनर्बीमा दाबीमा करिब १५ अर्ब ८१ करोड रुपैयाँ रहेको अद्यावधिक तथ्यांक प्राधिकरणले सार्वजनिक गरेको छ।
यसले जेनजी आन्दोलनको क्षतिको बीमा प्रक्रिया क्रमिक रूपमा अघि बढिरहेको र बीमितहरूको राहत सुनिश्चित गर्ने प्रयास जारी रहेको देखाएको छ।


