बिआईएन समिटमा नेपाल–भारत–भुटान ऊर्जा सहकार्य तीव्र बनाउने सुझाव

बिआईएन समिटमा नेपाल–भारत–भुटान ऊर्जा सहकार्य तीव्र बनाउने सुझाव तरुण खबर १४ मंसिर २०८२, आईतवार ११:३४
बिआईएन समिटमा नेपाल–भारत–भुटान ऊर्जा सहकार्य तीव्र बनाउने सुझाव

काठमाडाैं, १४ मंसिर । भारतको नयाँ दिल्लीमा सम्पन्न साउथ एसिया (बिआइएन) पावर समिट २०२५ मा विज्ञ र नीति निर्माताहरूले ऊर्जा क्षेत्रमा तीव्र लगानी सुनिश्चित गर्न नीतिगत हस्तक्षेप आवश्यक रहेको निष्कर्ष निकालेका छन्। भारतीय उद्योग परिसंघ (CII) द्वारा आयोजित सम्मेलनमा भुटान, भारत र नेपाल (BIN) का सरकारी प्रतिनिधि तथा निजी क्षेत्रका ऊर्जा उद्यमीहरूको व्यापक सहभागिता थियो।

सम्मेलनमा नेपालतर्फबाट स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (IPPAN) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा पाँच सदस्यीय टोली सहभागी भयो। सरकारी तर्फ ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव तथा विद्युत विकास विभागका उपमहानिर्देशक नुतन कुमार शर्मा नेतृत्वको टोली उपस्थित थियो।

नेपाल स्वच्छ ऊर्जामा सक्षम: सहसचिव शर्माको धारणा

सम्मेलनको उद्घाटन सत्रमा सहसचिव शर्माले दक्षिण एसियामा बढ्दो विद्युत माग पूरा गर्न नेपालमा जलविद्युत उत्पादनको प्रशस्त सम्भावना रहेको बताए। उनले स्वच्छ ऊर्जा उत्पादन तथा निर्यातमा नेपाल सक्षम भएको उल्लेख गरे।

४६.५ अर्ब डलर लगानी आवश्यक: मोहनकुमार डाँगी

‘Accelerating Investment in Power Sector: Interventions Required’ सत्रमा बोल्दै वरिष्ठ उपाध्यक्ष डाँगीले बिआइएन देशहरूमा नीतिगत सुधारले मात्र ठूला लगानी आकर्षित गर्न सकिने बताए। नेपालले सन् २०३५ सम्म २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उनले त्यसका लागि ४६.५ अर्ब डलर लगानी आवश्यक हुने बताए।

उनका अनुसार—

  • नेपालमा हाल ४,००० मेगावाट उत्पादन क्षमता पुगेको

  • ५,५०० मेगावाटका आयोजनाहरू निजी क्षेत्रमार्फत निर्माणाधीन

  • अर्को ३,००० मेगावाटका परियोजना वित्तीय व्यवस्थापनको अन्तिम चरणमा

  • निजी क्षेत्रले थप २०,000 मेगावाट परियोजनाको अध्ययन गरिरहेको छ

डाँगीले भारत र बंगलादेशमा बढ्दो स्वच्छ ऊर्जाको माग नेपालले पुरा गर्नसक्ने र बिआइएन सहकार्यले क्षेत्रीय उर्जा सुरक्षामा योगदान पुर्‍याउने बताए।

विद्युत व्यापार विस्तार आवश्यक: आशिष गर्ग

‘Strategizing for Enhancing Energy Cooperation through Cross-Border Power Trade’ सत्रमा आईपीपीएएन उपाध्यक्ष आशिष गर्गले बिआइएन क्षेत्रमा पछिल्ला दुई वर्षमा विद्युत माग तीव्र बढेको भन्दै व्यापार विस्तार अपरिहार्य भएको बताए। उनको भनाइमा उत्पादन, प्रसारण र वितरणमा स्पष्ट योजना तथा नीतिगत हस्तक्षेप आवश्यक छ।

नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक सुभास कुमार मिश्रले चुनौतीहरू भए पनि यथोचित रणनीतिबाट विद्युत व्यापार बढाउन सकिने बताए।

डे–अहेड मार्केटले नयाँ अवसर: उत्तम भ्लोन लामा

‘Creating a Framework to Promote Power Exchanges’ सत्रमा उपाध्यक्ष उत्तम भ्लोन लामाले भारतले ल्याएको नयाँ निर्देशिकाले दैनिक (Day-Ahead Market) रुपमा समेत विद्युत व्यापार सम्भव बनाएको बताए।
हाल—

  • नेपालले भारतमा १००० मेगावाटभन्दा बढी

  • बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गर्दै आएको छ।

लामाका अनुसार हाल सरकारी तवरबाट मात्रै निर्यात भइरहेको र निजी क्षेत्र व्यापारमा सहभागी हुन अनुमति पर्खिरहेको छ।

अन्य सहभागिता

  • IPPAN का पूर्वकार्यसमिति सदस्य अभिज्ञा मल्लले Hydropower and Pump Storage विषयमा

  • राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख सागर श्रेष्ठले One Sun One World One Grid Connectivity सत्रमा प्यानल डिस्कसनमा सहभागिता जनाए।

समग्रमा सम्मेलनले बिआइएन देशहरूबीच विद्युत व्यापार, लगानी, पूर्वाधार र नीति सुधारमा सहकार्य बढाउने सकारात्मक वातावरण बनाएको बताइएको छ।