तरुण खबर
१७ मंसिर २०८२, बुधबार १२:१०
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा जीवन बीमा क्षेत्रको कारोबार दोहोरो अंकमा उछालिएको छ। नेपाल बीमा प्राधिकरणले कात्तिक मसान्तसम्म सार्वजनिक गरेको तथ्यांक अनुसार जीवन बीमकहरूले कुल ६२ अर्ब २१ करोड ८४ लाख ५८ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.५३ प्रतिशत वृद्धि हो। गत वर्ष यसै अवधिमा बीमा शुल्क ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ मात्र थियो।
तथ्यांकअनुसार पछिल्लो एक वर्षमा जीवन बीमा व्यवसायको आकार ८ अर्ब ८२ करोड २६ लाख रुपैयाँ बढेको छ। यस अवधि (साउन–कात्तिक) मा कम्पनीहरूले १२ अर्ब ७२ करोड ३९ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका छन् भने ४९ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ नविकरण मार्फत संकलन गरेका छन्।
प्रमुख बीमा कम्पनीहरूको प्रदर्शन
जीवन बीमा बजार विस्तारमा सबै कम्पनी सक्रिय देखिए पनि, प्रिमियम संकलनमा नेपाल लाइफ अग्रस्थानमा छ। कंपनीले चार महिनामा १७ अर्ब ९२ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १०.३८% वृद्धि हो। गत वर्ष यसै अवधिमा यसको कारोबार १५ अर्ब ४० करोड ९५ लाख रुपैयाँ थियो।
दोस्रो ठूलो कम्पनी नेशनल लाइफ को कारोबार १६.०९% बढेर ७ अर्ब ४७ करोड ३० लाख रुपैयाँ पुगेको छ। तेस्रो स्थानमा रहेको एलाइसी नेपाल ले ६.८१% वृद्धि प्राप्त गर्दै ६ अर्ब ४६ करोड ८९ लाख बराबरको कारोबार दर्ता गरेको छ। चौथो स्थानमा रहेको हिमालयन लाइफ ले ५ अर्ब ६४ करोड ७ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ।
सर्वाधिक वृद्धि गरेका कम्पनीहरू
व्यापार वृद्धिदरमा राष्ट्रिय जीवन बीमा कम्पनी सबैभन्दा अगाडि छ। कम्पनीको कारोबार अघिल्लो वर्षभन्दा १८३.६६% उछालिँदै ५ अर्ब ३ करोड ९३ लाख रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा रहेको आइएमई लाइफ को कारोबार २६.६८% वृद्धि भई १ अर्ब ९४ करोड ५४ लाख रुपैयाँ कायम भएको छ।
प्राधिकरणका अनुसार अन्य कम्पनीहरूको व्यापार वृद्धि यस प्रकार छः
समग्रमा हेर्दा, जीवन बीमा क्षेत्रले चालु वर्षको प्रारम्भिक चार महिनामै उत्साहजनक वृद्धि देखाउँदै बजार विस्तारमा सकारात्मक संकेत दिएको छ।


