पोखरा पराजित, काठमाडौं गोर्खाज प्लेअफमा

पोखरा पराजित, काठमाडौं गोर्खाज प्लेअफमा तरुण संवाददाता १८ मंसिर २०८२, बिहीबार १६:०२
पोखरा पराजित, काठमाडौं गोर्खाज प्लेअफमा

काठमाडौं । जारी नेपाल प्रिमियिर लिगमा पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै काठमाडौं गोर्खाज प्लेअफमा पुगेको छ । काठमाडौंको जितमा शाहव आलमले ह्याट्रिकसहित ६ विकेट लिए । उनी एनपिएल इतिहासमा ह्याट्रिक लिने पहिलो बलर बनेका छन् ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६६ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा पोखरा २० ओभरमा अलआउट हुँदा मात्र १५२ रन बनाउन सक्यो । पोखराको लागि ऋषि धवनले अर्धशतकीय इनिङ्स खेले । उनले बलिङतर्फ चार विकेट हात पारे ।

यसअघि पहिलो इनिङ्समा काठमाडौंका लागि इंग्लिस ब्याटर बेन चार्लस्वर्थ र भिम सार्कीले अर्धसतक बनाएका थिए । यो जितसँगै काठमाडौंले प्लेअफ पक्का गरेको छ । काठमाडौं सातमध्ये पाँच खेल जितेर १० अंक जोड्यो । सुदूरपश्चिमको पनि समान १० अंक छ । पोखरा आफ्नो छैटौं खेलमा तेस्रो जित निकाल्दै प्लेअफ सम्भावना जीिवतै राख्ने योजनामा थियो । तर, चौथो हारपछि टोली प्लेअफमा पुग्न अन्य टोलीको नतिजामा भर पर्नेछ ।

पोखराका लागि दोस्रो खेल खेलिरहेका ऋषि धवनले सर्वाधिक ५४ रन बनाए । उनले ३१ बलमा तीन चौका र दुई छक्का हिर्काए । धनञ्जय लक्षनले २७ बलमा ३० रन बनाए । करण केसीको बलमा मिलिन्द कुमारबाट क्याच आउट हुनुअघि धनञ्जयले समान एक चौका र छक्का प्रहार गरेका थिए । ८.३ ओभरमा चार विकेट गुमाएर ५५ रन बनाएको पोखराको लागि ऋषि र धनञ्जयले चौथो विकेटको लागि ४७ बलमा ७६ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । धनञ्जय आउट हुँदा पोखराले १६.२ ओभरमा १३१ रन बनाएको थियो ।

काठमाडौंका लागि साहव आलमले सार्वधिक ६ विकेट लिए । उनले चार ओभरमा २५ रन खर्चिए । आलम कर्णालीका विलियम बोसिस्टोपछि एकै इनिङ्समा ६ विकेट लिने दोस्रो खेलाडी बनेका छन् । कप्तान करण केसी र सन्नी पटेलले समान दुई विकेट हात पारेका थिए ।