चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा रसुवामा बनेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना आंशिक रुपमा पुनः सञ्चालनमा आएको छ। गत असार २४ गते ल्येन्दे खोला क्षेत्रमा हिमताल फुटेर आएको भीषण बाढीले बाँधसहित हेडवक्र्स संरचना क्षतिग्रस्त बनेपछि बन्द भएको आयोजना मर्मतपछि शनिबारदेखि एक युनिटमार्फत विद्युत उत्पादन गर्न थालेको हो।
हेडवक्र्सको क्षति व्यापक रहेकाले अस्थायी नदी पथान्तरण (डाइभर्सन) गरेर तीनमध्ये एक युनिट सञ्चालनमा ल्याइएको हो। एक युनिटबाट ३७ मेगावाट विद्युत उत्पादन भइरहेको चिलिमे तथा प्राधिकरणका अधिकारीहरूले जनाएका छन्। बाँकी दुई युनिट एक महिनाभित्र सञ्चालनमा ल्याइने र हेडवक्र्सको स्थायी मर्मत आगामी वर्षायामअघि पूरा गर्ने तयारी अघि बढिरहेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।
उनका अनुसार बाढीले मेसिन, गेट, लकडी रोक्ने संरचना, भवन तथा टेलरेस क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। दुई मिटरभन्दा बढी लेदो थुप्रिनुका साथै सुरुङतर्फ पानी पठाउने संरचनासमेत भत्किएका थिए। टर्बाइन रहेको तला समेत पानीमा पूर्ण डुबानमा परेको थियो।
उक्त बाढीका बेला आयोजनामा कार्यरत २२ जना कर्मचारीलाई सेना हेलिकोप्टरबाट सुरक्षित उद्धार गरिएको थियो। कर्मचारी आवास क्षेत्र पूर्ण रूपमा बगाएको थियो भने स्याफ्रुबेंसी–आयोजना मार्गका धेरै भाग पहिरोले अवरुद्ध भएका थिए।
आयोजनाबाट १६ पुस २०८१ देखि व्यावसायिक उत्पादन सुरु गरिएको थियो। तर असारको बाढीपछि पूर्ण रूपमा बन्द भएको आयोजना अब चरणबद्ध रूपमा पुनःस्थापित हुँदैछ। आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन हुने र कम्पनीले झन्डै ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्ने अनुमान छ।
कार्यकारी निर्देशक सिलवालले प्राधिकरण, चिलिमे र रसुवागढी कम्पनीका पदाधिकारी तथा कर्मचारीको निरन्तर प्रयासले आयोजनालाई पुनःचालु गर्न सफल भएको उल्लेख गर्दै, “हिउँदयामको विद्युत माग व्यवस्थापनमा यसले राहत दिनेछ,” भने।




