विदेशी लगानीमा विश्वस्त माहोल, १७ सय अर्बका प्रोजेक्ट तीव्र गतितर्फ

विदेशी लगानीमा विश्वस्त माहोल, १७ सय अर्बका प्रोजेक्ट तीव्र गतितर्फ तरुण खबर २१ मंसिर २०८२, आईतवार ११:४९
विदेशी लगानीमा विश्वस्त माहोल, १७ सय अर्बका प्रोजेक्ट तीव्र गतितर्फ

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिल ज्ञवालीले नेपालमा विदेशी लगानी आकर्षण बढिरहेको र लगानीकर्ताहरू ‘हात झिक्ने’ अवस्थामा नरहेको स्पष्ट पारेका छन्। आइतबार नाफिजको साधारण सभामा बोल्दै उनले केही लगानीकर्ताहरू ‘पर्ख र हेर’ मोडमा भए पनि नेपालमा लगानी गर्ने वातावरण मजबुत बन्दै गएको बताए।

उनका अनुसार हाल झन्डै १७ सय अर्ब रुपैयाँ बराबरका प्रोजेक्ट पाइपलाइनमा छन्, जसमा धेरै ‘गेम चेन्जिङ’ परियोजनाहरू अन्तिम चरणतर्फ अघि बढिरहेका छन्। “लगानीकर्ताहरू उत्साहित छन्, वातावरण राम्रो हुँदै गएको अनुभूति उनीहरू आफैंले गरिरहेका छन्,” सीईओ ज्ञवालीले भने।

लगानी बोर्डलाई सुधार प्रक्रियामा अघि बढाइरहेको जानकारी दिँदै उनले बोर्डमा विज्ञ सदस्यहरूको आवश्यकता पहिचान गरिएकाले योग्य विज्ञहरूलाई सदस्यका रूपमा समावेश गर्ने तयारी भइरहेको बताए। “अफ्ठ्यारा विषयको समाधान गर्दै सहज वातावरण बनाउनेतर्फ बोर्ड प्रतिबद्ध छ,” उनले भने।

उनका अनुसार जेनजी आन्दोलनपछि लगानीकर्ताहरूको चासो नेपाल परिवर्तनको दिशातर्फ अघि बढिरहेको आकलनका कारण बढेको छ। लगानीकर्तालाई ढुक्क बनाउन विश्वासिलो र स्थिर नीतिगत आधार आवश्यक रहेको उल्लेख गर्दै उनले लगानीकर्ताले राख्ने सर्त तथा टर्म–कन्डिसन भविष्यमा परिवर्तन नहुनेजस्तो विश्वस्त वातावरण बनाउन सम्झौता पद्धतिमै सुधार भइरहेको जानकारी दिए।

सरकार, निजी क्षेत्र र लगानीकर्ताबीच समन्वय बढाउन बोर्ड सक्रिय रहेको उल्लेख गर्दै उनले हालै अर्थमन्त्रीसहित विविध पक्षबीच भएको छलफलबाट “अब उठ्नै पर्छ, विकल्प छैन” भन्ने साझा निष्कर्ष निस्किएको बताए। निजी क्षेत्रले उठाएका कानुनी अप्ठ्यारा पाटाहरू सरल र व्यवहारिक बनाउने मागलाई पनि बोर्डले प्राथमिकताका साथ अघि बढाएको उनले स्पष्ट पारे।

सीईओ ज्ञवालीका अनुसार सरकारले कुन–कुन परियोजना आफूले गर्ने र निजी क्षेत्रले गर्ने जिम्मेवारी छुट्याउन समिति बनाएर स्पष्टता ल्याउने काम भइरहेको छ। साथै, प्रतिस्पर्धा प्रक्रिया बाहिर रहेर कुनै परियोजना नदिने स्पष्ट नीति बोर्डले अपनाइसकेको छ।

उनले नेपालमा विदेशी तथा स्थानीय लगानी दिगो रूपमा बढ्न अब सकारात्मक वातावरण तयार हुँदै गएको भन्दै तीव्र गतिमा परियोजना अगाडि बढ्न सक्ने सम्भावनाबारे आशावादी दृष्टिकोण व्यक्त गरे।