लगानी प्रवाह बढाएर अर्थतन्त्र सुदृढ बनाउने चुनौती

लगानी प्रवाह बढाएर अर्थतन्त्र सुदृढ बनाउने चुनौती तरुण खबर २१ मंसिर २०८२, आईतवार १२:०९
लगानी प्रवाह बढाएर अर्थतन्त्र सुदृढ बनाउने चुनौती

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले हालको वित्तीय प्रणालीमा रहेको लगानी योग्य रकम स्थिर रहनु अर्थतन्त्रका लागि ठुलो चुनौती भएको बताएका छन्। आइतबार नाफिजको साधारण सभामा बोल्दै उनले भने, “आन्तरिक अर्थतन्त्र चापमा छ। बैंकमा लगानी योग्य रकम पर्याप्त भए पनि समग्र बजारको माग बढ्न सकेको छैन। पैसा स्थिर रहनु अर्थतन्त्रका लागि राम्रो पक्कै पनि होइन।”

अध्यक्ष पाण्डेका अनुसार निजी क्षेत्रको लगानी बढ्नुको अर्थतन्त्र विस्तारको मुख्य उपाय हो। “निजी क्षेत्रको लगानी बढ्यो भने मुलुकको अर्थतन्त्र विस्तार हुन्छ। अर्थतन्त्र सुदृढ भयो भने मुलुक समृद्ध हुन्छ, युवाहरूले रोजगारी पाउँछन्, राज्यले राजस्व पाउँछ र पूर्वाधार तथा सामाजिक विकासमा योगदान पुग्छ,” उनले जोड दिए।

बजारमा पर्याप्त पैसा ल्याउनका लागि सरकारले पुँजीगत खर्च बढाउनु पर्ने उनको सुझाव छ। उनले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको बजेट कार्यान्वयन सन्तोषजनक नभएको टिप्पणी गर्दै, “बजेट कार्यान्वयनमा सरकार कडाइका साथ अघि बढ्नु आवश्यक छ। राजनीतिक विवाद भन्दा माथि आर्थिक मुद्दालाई पहिलो प्राथमिकतामा राख्नु पर्छ,” अध्यक्ष पाण्डेले बताए।

उनले समग्र रूपमा सबै पक्षले अर्थतन्त्र बलियो बनाउने उपायहरूमा ध्यान केन्द्रित गर्नु आवश्यक रहेको पनि औंल्याए।