तरुण खबर
२१ मंसिर २०८२, आईतवार १२:२२
अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथि अनावश्यक आक्रमण ठीक नभएको स्पष्ट पारेका छन्। आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारण सभामा बोल्दै उनले भने, “निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि हो। उनीहरूमाथि अनावश्यक आक्रमण हुनु ठिक होइन। निजी क्षेत्रको संरक्षणमा सबैको जोड आवश्यक छ।”
अर्थमन्त्री खनालका अनुसार कानूनअनुसार सुधार गर्न सकिन्छ, तर सहि व्यक्तिमाथि गलत कदम चालिँदा निरुत्साहित हुने सम्भावना हुन्छ। “यदि कसैले अपराध गरेको छ भने त्यसको सजाय सरकार तयार छ। तर सडक, सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट जथाभाबी टिप्पणी गर्नु हुँदैन,” उनले चेतावनी दिएका छन्।
उनले जेनजी आन्दोलन आर्थिक समृद्धिका लागि मात्र नभई भ्रष्टाचार अन्त्य र सेवा पारदर्शी बनाउने उद्देश्यले भएको बताए। साथै, आगामी निर्वाचन समयमै र सुरक्षित तरिकाले सम्पन्न गरिनुपर्नेमा जोड दिए। “निर्वाचन सार्न खोज्दा मुलुक अनिश्चित दिशामा जान्छ। त्यसैले सबै दल र आम नागरिकको सहमतिमा निष्पक्ष, भयरहित र अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्वाचन हुनु पर्छ,” अर्थमन्त्रीले स्पष्ट पारे।
खनालले अन्तर्राष्ट्रिय जगतले नेपालको लोकतान्त्रिक अभ्यास सकारात्मक मूल्याङ्कन गरिरहेको उल्लेख गर्दै, “सरकारको छवि सुधार गर्न आगामी दिनमा सुधारका काम निरन्तर जारी रहनुपर्छ,” भन्दै सकारात्मक दृष्टिकोण अपनाउन आग्रह गरे।


