सशस्त्र प्रहरी प्रमुख अर्यालसँग आयोगले लियो बयान

सशस्त्र प्रहरी प्रमुख अर्यालसँग आयोगले लियो बयान तरुण संवाददाता २३ मंसिर २०८२, मंगलवार १५:५९
सशस्त्र प्रहरी प्रमुख अर्यालसँग आयोगले लियो बयान

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल न्यायिक जाँचबुझ आयोगको कठघरामा उभिएका छन् । उनी मंगलबार भदौ २३ र २४ को घटनासम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिन पुगेका हुन् ।

भदौ २३ गतेको जेनजी आन्दोलन, २४ गते उत्पन्न अवस्था, नयाँ बानेश्वरमा भएको सुरक्षा समन्वय अभाव, ती घटनामा सशस्त्र प्रहरीको भूमिकालगायतका विषयमा आयोगले अर्यालसँग बयान लिइरहेको छ ।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले यसअघि सशस्त्रका डीआईजी र एआईजीसँग बयान लिइसकेका छन् । आयोगले नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललगायतसँग बयान लिइसकेको छ । आयोगले नेपाली सेनालाई पनि बयान दिन पत्र काटेको थियो । तर जंगी अड्डाले आयोगलाई आफूहरूले नचिन्ने जवाफ दिएको छ ।

आयोगले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई बयानका लागि बोलाउने तयारी गरेको छ । भदौ २३ गते जेनजी आन्दोलनको पहिलो दिन ठूलो मानवीय क्षति भएपछि २४ गते बिहानै कार्कीलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा खटाइएको थियो ।

आयोगको म्याद सकिँदैछ । हाल प्रतिवेदन लेखनको काम भइरहेको छ । तर अझै पनि तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकसँग भने आयोगले बयान लिन सकेको छैन । आयोगले एक दुई दिनभित्रै बयान दिन बोलाउने तयारी गरेको छ । एमालेले भने ओलीलाई बोलाइए प्रतिकार गर्ने चेतावनी दिइसकेको छ । जसले गर्दा आयोग हच्किएको हो ।