तरुण संवाददाता
२३ मंसिर २०८२, मंगलवार १६:०३
काठमाडौं । भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर उच्चस्तरीय भेटवार्तामा सक्रिय भएका छन् । आइतबार राति नेपाल आएका महावर सोमबार दिनभर कतै पनि सार्वजनिक भएनन् । तर मंगलबार बिहानैबाट उनी सक्रिय भए ।
महावरले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । सिंहदरबारमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले यो तीन महिनामा भारत सरकारको कर्मचारी तहमा मात्र भेटघाट र कुराकानी गरेकी छन् ।
अतिरिक्त सचिव महावरले मंगलबार नै गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा महावरले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।


