तरुण खबर
२५ मंसिर २०८२, बिहीबार ११:१९
नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतले अस्ट्रेलिया भ्रमणपछि कम्पनीले अन्तर्राष्ट्रिय विस्तारको ठूलो कदम चाल्ने तयारी गरिरहेको खुलासा गरेका छन्। स्टुडेन्ट इन्टरनेशनल हेल्थ इन्सुरेन्स प्रोडक्टको विदेशी लन्चिङका लागि अस्ट्रेलिया पुगेका उनले सिड्नीमा आयोजित कार्यक्रममा तथा विभिन्न कलेजमा उक्त प्रोडक्ट प्रस्तुत गर्दा अत्यन्त उत्साहजनक प्रतिक्रिया पाएको जानकारी दिए। विदेशी प्रतिनिधिहरूले “यस्ता कभरेजसहितको विद्यार्थी–बीमा अन्य देशमा नदेखेको” बताएका उनी बताउँछन्।
कलेजका प्राध्यापक, कन्सल्टेन्सी प्रतिनिधि र कन्सल्टेन्सी एसोसिएसनसँगको भेटघाटपछि अस्ट्रेलियामै प्रतिनिधि कार्यालय वा शाखा खोल्ने सम्भावनाले मूर्त रूप लिन थालेको उनले बताए। अस्ट्रेलियामा रहेका नेपाली तथा स्थानीय कन्सल्टेन्सी तथा एजेन्टहरूसँग मेलबर्न र सिड्नीमा सम्मेलन गर्ने तयारी कम्पनीले अघि बढाएको छ।
विदेश शाखा खोल्ने विषयमा नेपाल बीमा प्राधिकरणसँगको प्रारम्भिक छलफल सकारात्मक रहेको उनको भनाइ छ। “अघिल्ला दुई कम्पनी असफल भए पनि यदि तपाईंहरूले गर्न चाहनुहुन्छ भने हामी रोक्दैनौँ,” प्राधिकरणको संकेतले अन्तर्राष्ट्रिय उपस्थितिका लागि मार्ग प्रशस्त भएको बताइयो। बीमा क्षेत्रबाट अहिलेसम्म कसैले विदेश शाखा खोल्न सफल नदेखिएकाले नेको इन्स्योरेन्स सफल भए पहिलो नेपाली बीमा कम्पनीका रूपमा इतिहास रचिनेछ।
तर अस्ट्रेलियन नियमन कडा छन्—न्यूनतम ५ मिलियन डलर बराबरको पूँजी, लायबिलिटी बराबरको एसेट अस्ट्रेलियामै राख्नुपर्ने, र लायबिलिटी बढेअनुसार एसेट बढाउनुपर्ने प्रावधानलाई कम्पनीले अहिले विस्तारमा अध्ययन गरिरहेको छ। पूँजी जुटाउन चुनौती कम भए पनि ‘इक्विभ्यालेन्ट एसेट’ का प्रावधान विस्तृत रूपमा बुझ्नु आवश्यक रहेको बताइएको छ।
अस्ट्रेलियामा विद्यार्थी र मोटर बीमा दुवै क्षेत्रमा ठूलो अवसर देखिएको छ। कम दुर्घटना दर, व्यवस्थित सडक प्रणाली र उच्च प्रिमियम दरका कारण मोटर इन्सुरेन्स आकर्षक मानिन्छ—३०,००० डलरको गाडीमा १८०० डलर प्रिमियम पर्नु यसको उदाहरण हो। नेपालबाट हरेक वर्ष ६०–७० हजार विद्यार्थी अस्ट्रेलिया जाने भएकाले विद्यार्थी–बीमाको बजार झनै ठूलो छ।
कम्पनी अहिले विद्यार्थी बीमा र मोटर बीमालाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय विस्तारको प्रारम्भिक चरणमा प्रवेश गरिरहेको छ। सफल भए नेपाली बीमा उद्योगका लागि यो पहिलो ठूलो अन्तर्राष्ट्रिय उपस्थिति हुनेछ भन्ने कम्पनीको विश्वास छ।


