हायात रिजेन्सीले कर्मचारीलाई पुनर्निर्माण अवधिभर न्यूनतम तलब सुनिश्चित

हायात रिजेन्सीले कर्मचारीलाई पुनर्निर्माण अवधिभर न्यूनतम तलब सुनिश्चित तरुण खबर २५ मंसिर २०८२, बिहीबार ११:५६
हायात रिजेन्सीले कर्मचारीलाई पुनर्निर्माण अवधिभर न्यूनतम तलब सुनिश्चित

जेनजी आन्दोलनका क्रममा भदौ २४ मा तोडफोड र आगजनीपछि बन्द भएको बौद्धस्थित हायात रिजेन्सी होटलले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम पारिश्रमिक दिने सहमति गरेको छ। होटल व्यवस्थापन र कर्मचारी प्रतिनिधिहरूबीच पुनर्निर्माण अवधिभर श्रमिकको पारिश्रमिक सुनिश्चित गर्ने समझदारी भएको हो।

होटल पुनर्निर्माण गर्न कम्तीमा एक वर्ष लाग्ने अनुमान गर्दै कर्मचारीका हकमा न्यूनतम आधारभूत पारिश्रमिक प्रदान गर्ने निर्णय गरिएको हो। साथै, होटलले सामाजिक सुरक्षा कोषमा पनि सोही अनुपातमा योगदान गर्ने जनाएको छ। मर्मत–सम्भार पूरा भएपछि सहमतिमा रहने कर्मचारीलाई पुनः रोजगारीमा फर्काइने छ।

व्यवस्थापनका अनुसार, अधिकांश कर्मचारीले सहमतिलाई सकारात्मक रूपमा लिएका छन्। सहमतिमा नआउने कर्मचारीको हकमा भने श्रमिक कटौतीको प्रक्रिया अपनाइने बताइएको छ।

आन्दोलनका कारण होटलमा ठूलो आर्थिक र भौतिक क्षति पुगेकोले पूर्ण मर्मत–सम्भार पूरा नगरी सञ्चालन सम्भव नभएको होटल व्यवस्थापनले जनाएको छ। यस सहमतिले कर्मचारी सुरक्षाको दृष्टिले सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।