नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हाल नेपालको अर्थतन्त्र लगानीको सुस्त गतिमा रहे पनि सही नीतिगत सुधार र दीर्घकालीन सोचका साथ अघि बढ्न सके सकारात्मक मोड लिन सकिने बताएका छन् ।
उनका अनुसार बैंक तथा वित्तीय संस्थासँग कर्जा प्रवाह गर्ने क्षमता भए पनि लगानीकर्तामा सुरक्षित प्रतिफलको सुनिश्चितताप्रति विश्वास कमजोर हुँदा लगानी चक्र चलायमान हुन सकेको छैन । “बैंकसँग पैसा छ, तर लगानीकर्ता आफैँ डराइरहेका छन्,” उनले भने ।
कोइरालाले पछिल्ला वर्षहरूमा उत्पादनशीलभन्दा अनुत्पादक क्षेत्रमा बढी लगानी केन्द्रित हुँदा दीर्घकालीन प्रतिफल कमजोर बनेको उल्लेख गरे । घरजग्गा, गाडी र विलासिताका क्षेत्रमा गरिएको अल्पकालीन लगानीले तत्कालीन बजार चलायमान देखिए पनि कोभिड–१९ जस्ता संकट सामना गर्न नसक्दा अर्थतन्त्रले ठूलो धक्का खेप्नुपरेको उनको भनाइ छ ।
उनले सिमेन्ट, डण्डी र हाइड्रोपावरजस्ता केही क्षेत्रमा अत्यधिक लगानी भइसकेकाले अब नयाँ र नवीन क्षेत्रको खोज, अनुसन्धान र नवप्रवर्तन अपरिहार्य बनेको बताए । साथै, बैंकहरूको कर्जा सुरक्षित क्षेत्रमै केन्द्रित हुनु, प्रक्रियागत जटिलता र उत्पादनशील क्षेत्रमा प्राथमिकता नपुग्नुले लगानी प्रवाह अवरुद्ध भएको उनको धारणा छ ।
हाल धेरै बैंकमा खराब कर्जा (एनपीएल) बढ्दा कर्जा असुली चुनौतीपूर्ण बनेको र यसले नयाँ ऋण प्रवाह क्षमतामा असर पारेको कोइरालाले बताए । दीर्घकालीन प्रतिफल घट्दै जाँदा समग्र अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गर्दै उनले समयमै सुधार नगरे भावी पुस्ताले समेत यसको नकारात्मक असर भोग्नुपर्ने चेतावनी दिए ।
कोभिडपछि उत्पन्न आर्थिक मन्दीले ग्राहकको ऋण तिर्ने क्षमतामा असर पारेको, यसले बैंक र व्यवसायीबीचको सम्बन्धमा समेत खटपट ल्याएको उनले बताए । उच्च ब्याजदर, तरलताको दबाब, विदेशी मुद्रा सञ्चितिमा चुनौती र एफएटीएफको ग्रे लिस्टमा नेपाल पर्नुले पनि अर्थतन्त्र थप संवेदनशील बनेको उनको भनाइ छ ।
यद्यपि, सबै पक्ष नकारात्मक मात्र नभएको भन्दै कोइरालाले पर्यटन, हाइड्रोपावर र सूचना प्रविधि क्षेत्रलाई दीर्घकालीन सम्भावनायुक्त क्षेत्रका रूपमा औंल्याए । “सही प्राथमिकतासहित लगानी बढाउन सके यी क्षेत्रले देशलाई स्थायी प्रतिफल दिन सक्छन्,” उनले भने ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ मौद्रिक नीतिले ब्याजदर नियन्त्रण र तरलता व्यवस्थापनमार्फत बजारलाई केही चलायमान बनाउने अपेक्षा गरिएको छ । साथै, सरकारले बजेटमार्फत बैंकिङ क्षेत्रमा कर व्यवस्था र वित्तीय प्रोत्साहन समेटिएकाले कर्जा प्रवाह र वित्तीय समावेशितामा सकारात्मक प्रभाव पर्ने विश्वास कोइरालाको छ ।
डिजिटल बैंकिङ विस्तारसँगै साइबर सुरक्षा जोखिम, डेटा चोरी र अनधिकृत पहुँचजस्ता चुनौती बढेको उल्लेख गर्दै उनले बैंकहरूले प्रविधि आत्मसात् गर्दा उच्च सजगतासमेत अपनाउनुपर्ने बताए । फिनटेक कम्पनीहरूको बढ्दो प्रतिस्पर्धाबीच सेवा र प्रविधि सुधार बैंकहरूको प्रमुख चुनौती बनेको उनको भनाइ छ ।
शाखा कार्यालय स्थापना र स्थानान्तरणसम्बन्धी व्यवस्थालाई केही लचिलो बनाउन सके बजारअनुकूल निर्णय लिन, वित्तीय पहुँच विस्तार गर्न र दक्षता बढाउन सहयोग पुग्ने कोइरालाको सुझाव छ ।
समग्रमा, दीर्घकालीन सोच, उत्पादनशील क्षेत्रमा केन्द्रित लगानी, सशक्त वित्तीय नीति र प्रविधिसँगैको सजगताबाट नेपालको अर्थतन्त्रलाई स्थायित्व र सकारात्मक दिशातर्फ डो¥याउन सकिने उनले निष्कर्ष निकाले ।




