तरुण खबर
२८ मंसिर २०८२, आईतवार १०:२४
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अटोमोबाइल उद्योग नेपालको अर्थतन्त्र, रोजगारी र औद्योगिक विकासको मेरुदण्डका रूपमा स्थापित भइसकेको बताएका छन् । उनका अनुसार सवारीसाधन खरिद–बिक्रीमा सीमित नरही अटो क्षेत्रले राजस्व संकलन, रोजगारी सिर्जना, वित्तीय गतिविधि र प्रविधि हस्तान्तरणमा व्यापक योगदान दिँदै आएको छ ।
हाल अटोमोबाइल क्षेत्रमा १ लाखभन्दा बढीलाई प्रत्यक्ष र करिब १० लाख मानिसलाई अप्रत्यक्ष रोजगारी प्राप्त भएको छ । आयातकर्ता, डिलर, सर्भिस सेन्टर, मर्मत प्राविधिकदेखि ड्राइभर, बीमा, बैंक, पेट्रोलियम व्यवसाय र स्पेयर पार्ट्स आपूर्तिकर्तासम्म यो क्षेत्र अर्थतन्त्रका विभिन्न पाटोसँग गाँसिएको छ । ग्रामीण भेगमा रहेका साना ग्यारेज र स्पेयर पार्ट्स पसलहरू स्थानीय रोजगारीको मुख्य आधार बनेका छन् ।
विश्वव्यापी रूपमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग तीव्र गतिमा बढिरहेका बेला नेपाल पनि सो दिशातर्फ उन्मुख हुँदै गएको छ । सरकारले कर छुट, चार्जिङ स्टेसन स्थापनाको अनुमति र आयात सहुलियतमार्फत ईभी प्रवर्द्धन गरिरहेको छ, जसले वातावरणमैत्री प्रविधिसँगै नयाँ उद्योग र रोजगारीका सम्भावना खोल्दै लगेको अध्यक्ष चौधरीले बताए ।
उनका अनुसार मोबिलिटी कुनै विलासिता नभई विकासको आधार हो । सडक पूर्वाधार विस्तार हुँदै गएको सन्दर्भमा करिब २० प्रतिशत नेपालीमा निजी सवारीको पहुँच पुगेको छ । अटो क्षेत्र यातायात, औद्योगिक विकास र क्षेत्रीय समावेशीकरणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
तर, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले अटो क्षेत्रमा ठूलो क्षति पुगेको छ । मुख्य बिक्री सिजन दशैँ–तिहारअगाडि भएको घटनाले व्यवसायीको मनोबल घट्नुका साथै उपभोक्ता विश्वासमा असर पारेको छ । क्षतिको यकिन तथ्यांक आइनसके पनि बीमित र गैरबीमित दुवै प्रकारका नोक्सानी व्यवसायीहरूले भोग्नुपरेको नाडाको भनाइ छ ।
नाडाले सदस्यहरूबाट क्षतिको विवरण संकलन गरी बीमा कम्पनी र सरकारसँग क्षतिपूर्तिको प्रक्रिया अघि बढाइरहेको जनाएको छ । धेरै शोरुमहरू पुनर्निर्माणपछि पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेकाले अटो क्षेत्र चाँडै सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ ।
आन्दोलनपछिको अवस्थाबारे नयाँ सरकारसँग छलफल सुरु भइसकेको र बीमा दाबी भुक्तानी सरल बनाउने, कर तथा ब्याजमा राहत दिने विषयमा सकारात्मक संकेत प्राप्त भएको अध्यक्ष चौधरीले बताए । सरकार र निजी क्षेत्रको सहकार्यले उद्योग पुनरुत्थान मात्र होइन, समग्र अर्थतन्त्रलाई पनि फाइदा पुग्ने उनको धारणा छ ।
अटोमोबाइल उद्योगले भन्सार महशुल, कर, दर्ता शुल्क, बीमा, सडक कर र पेट्रोलियम करमार्फत संघ, प्रदेश र स्थानीय सरकारलाई ठूलो राजस्व प्रदान गर्दै आएको छ । तर, इन्धन निर्भरता, प्रदूषण, ट्राफिक जाम र आयातमुखी बजारजस्ता चुनौती पनि विद्यमान छन् । त्यसैले दीर्घकालीन ईभी नीति, स्थिर कर व्यवस्था र लगानीमैत्री वातावरण आवश्यक रहेको नाडाको माग छ ।
अध्यक्ष चौधरीले उच्च ब्याजदर र कडा कर्जा नीतिका कारण अटो व्यवसाय दबाबमा परेको उल्लेख गर्दै निजी सवारीका लागि अटो कर्जामा लगाइएका सीमाहरू हटाउन आग्रह गरे । पाँच वर्षका लागि स्पष्ट, स्थिर र पूर्वानुमानयोग्य नीतिगत ढाँचाले लगानीकर्ता र उपभोक्ता दुवैको विश्वास बढाउने उनको विश्वास छ ।
“अटोमोबाइल उद्योग केवल व्यापार होइन, यो रोजगारी, प्रविधि र आर्थिक पुनरुत्थानको आधार हो,” उनले भने, “स्थायित्व, पारदर्शिता र सहकार्यमा आधारित नीति भएमा अटो क्षेत्रले नेपालको दिगो आर्थिक समृद्धिमा निर्णायक योगदान दिन सक्छ ।”


