तरुण खबर
२८ मंसिर २०८२, आईतवार १०:३०
नेपाल बीमा प्राधिकरणको आयोजनामा सिरहा जिल्लाको लहानमा बीमा कम्पनीका शाखा कार्यालय प्रमुखहरूसँग बीमा क्षेत्रका समसामयिक विषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटाले बीमा ऐन, नियम र निर्देशिकाको पूर्ण पालना गर्दै बीमा व्यवसाय सञ्चालन गर्न शाखा प्रमुखहरूलाई निर्देशन दिए । उनले बीमा क्षेत्रको दिगो विकास र विस्तारका लागि प्राधिकरणको प्रदेश कार्यालयसँग समन्वय गरी गाउँघरस्तरसम्म पुगेर बीमा सेवाको पहुँच बढाउन आग्रह गरे ।
निर्देशक सापकोटाले विशेषगरी कृषि तथा पशुपन्छी बीमाको विस्तारमा जोड दिँदै यस क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता औंल्याए । यसले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन र किसानलाई जोखिम व्यवस्थापनमा सहयोग पुग्ने उनको भनाइ थियो ।
कार्यक्रममा सहभागी शाखा प्रमुखहरूले बीमा कम्पनीहरूले बीमा सम्बन्धी अनुसन्धान तथा विकासमा लगानी बढाउनुपर्ने, कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि नियमित तालिम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । साथै सीमा क्षेत्रका बासिन्दालाई लक्षित गर्दै बीमा सचेतना अभिवृद्धिका लागि होर्डिङ बोर्ड तथा प्रचार सामग्री प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने सुझाव दिएका थिए ।
उनीहरूले कृषि बीमाको विस्तार तथा प्रवर्द्धनलाई विशेष महत्व दिनुपर्ने र संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको रकम सम्बन्धित प्रदेशभित्रै खर्च गर्ने व्यवस्था गर्नुपर्ने धारणा पनि राखे ।
कार्यक्रममा जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीका सिरहा जिल्लास्थित शाखा कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो । कार्यक्रमले स्थानीय स्तरमा बीमा सेवाको पहुँच र विश्वास बढाउन सकारात्मक सन्देश दिएको सहभागीहरूको भनाइ छ ।


