तरुण खबर
४ फाल्गुन २०७७, मंगलवार १२:०५
प्रधानमन्त्रीले आफूले गरेको कामको विवरण बाँढे
काठमाडौं । आप्नै पार्टीका नेताहरु ’समानान्तर सत्ता’को अभ्यास गर्न थालेपछि संसद विघटन गर्न आफू बाध्य भएको प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । मन्तव्यका क्रममा ओलीले आफू लोकतान्त्रिक प्रणालीको विरुद्धमा नरहेको दोहो–याएका थिए । चुनाव हुनेबित्तिकै प्रतिगमन हुने भए एक दुई वर्षमा त चुनाव भइ नै हाल्थ्यो !…के मैले म चुनाव गराउन्न, सधैँ शासनसत्तामा बस्छु भनेँ ? पतिश्पर्धी नेताहरुलाई उनको प्रश्न थियो ।
ओलीद्वारा अरुले गर्न नसक्ने काम गरेको दावी
सरकार गठन भएको तीन वर्ष पुगेको अवसरमा उनले आफूले गरेका कामको विवरण दिदै कोरोनाभाइरसका कारण कैयौँ देशका अर्थतन्त्र नराम्रोसँग खुम्चिन पुगेको अवस्थामा पनि नेपालको आर्थिक वृद्धिदर घटे पनि सरकारको सुझबुझ, नीतिगत स्पष्टता र पूर्व सक्रियताका कारण नेपाली अर्थतन्त्र मन्दीको चपेटामा नपरेको, भूकम्प पुनर्निर्माणअन्तर्गत कैयौँ आवासघर तथा ठूला पूर्वाधाररसम्पदाहरू तयार भएको, यो सरकार गठन भएपछि प्रतिदिन करिब ५ किलोमिटर भन्दा बढीका दरले कालोपत्रे सडक निर्माण भइरहेको, १३० वटा तुइन विस्थापित गरी झोलुङ्गेपुल निर्माण गरिएका, विद्युत् उत्पादन ३३३ मेगावाट थप भई १,४३० मेगावाट पुगेको छ । ६६ केभी क्षमताभन्दा माथिको विद्युत् प्रसारण लाइन ८३७ किलोमिटर विस्तार भई ४ हजार २५१ किलोमिटर पुगेको, रासायनिक मलको अनुदानमा १२५ प्रतिशतभन्दा बढीले वृद्धि गरी वार्षिक अनुदान रु १० अर्ब ६८ करोड ९८ लाख पु¥याइएको लगायतका उपलब्धीको फेहरिस्त प्रधानमन्त्री ओलीले पेश गरेका थिए ।
प्रधानमन्त्रीको अयोग्यता नै असफलता: काँग्रेस
तर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अनुकूल राजनीतिक परिस्थिति भएर पनि इतिहासको सबैभन्दा बलियो भनिएको सरकार प्रधानमन्त्रीको अयोग्यताको कारणले काममा असफल भएको बताएका छन् । कांग्रेसले सरकार बलियो भएको ठाने पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको र प्रधानमन्त्री स्वयं अयोग्य भएको काँग्रेसले निश्कर्ष रहेको प्रारम्भिक मूल्यांकन गरेको उनले बताए । सरकारले तीन वर्षमा तीन उपहार दम्भ, द्वन्द्व र भ्रष्टाचार जनतालाई दिएको शर्माको भनाइ थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने आफ्नो कदमलाई ’विधिसम्मत’ बताउँदै त्यसको बचाउ गरेका छन् । पुनर्निमाण सम्पन्न भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सिंहदरबारका तीनवटा मोहडाको उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै उनले सरकारका उपलब्धिहरूको लामो सूची प्रस्तुत गरे । तीन वर्षमा सरकारले विकासनिर्माण, स्वास्थ्यक्षेत्र तथा अर्थतन्त्रको क्षेत्रमा धेरै काम गरेको उनको भनाइ थियो ।
उनले कालापानी र लिम्पियाधुरा क्षेत्रलाई नेपालको प्रशासनिक नक्सामा समाविष्ट गराइएको प्रसङ्ग र चीन तथा भारतका नेताहरूको नेपाल भ्रमण पनि सरकारको उपलब्धि प्रस्तुत गर्दा उल्लेख गरे । दुई घण्टाभन्दा बढी समय बोलेका ओलीले सुरुमा राजनीतिक विषयमा लामै टिप्पणी गरे । प्रतिनिधिसभा विघटन गराई नयाँ निर्वाचन गराउने आफ्नो निर्णयको पक्षमा बोल्दै उनले त्यसो गर्नुबाहेक आफूसँग अन्य विकल्प नभएको तर्क गरेका थिए । देश ’अस्थिरतातर्फ जाने सम्भावना भएकोले प्रतिनिधिसभाको बाँकी कार्यकाललाई राजनीतिक अस्थिरताको अर्को खेलमैदान नबनाउन’ त्यसो गरिएको उनको दाबी थियो ।


