तरुण खबर
२९ मंसिर २०८२, सोमबार ११:१२
लामो समयदेखि सुस्ताएको निर्माण क्षेत्र पुनः चलायमान बन्दै उकालो यात्रातर्फ फर्किएको छ। आर्थिक गतिविधिमा आएको मन्दी, निर्माण सामग्रीको आयात–उत्पादनमा गिरावट तथा विभिन्न आयोजनामा भएको ढिलाइ र स्थगनका कारण थला परेको यो क्षेत्र पछिल्ला महिनाहरूमा बिस्तारै लयमा फर्किन थालेको हो।
केही समयअघिसम्म निर्माण व्यवसायीदेखि बैंक तथा वित्तीय संस्थासम्मको मनोबल कमजोर बनेको अवस्थामा थियो। तर महिनौँसम्म निष्क्रिय रहेका निर्माणस्थलहरू पुनः सक्रिय हुन थालेका छन्। निर्माणजन्य गतिविधिमा आएको यो गति सँगै बैंकहरूको कर्जा प्रवाह पनि उल्लेख्य रूपमा बढेको देखिन्छ। बैंकहरूबाट निर्माण क्षेत्रमा प्रवाह हुने कर्जा दोहोरो अंकले वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार निर्माण क्षेत्रमा वाणिज्य बैंकहरूको ऋण लगानी २ खर्ब ११ अर्ब १४ करोड ७६ लाख रुपैयाँ पुगेको छ। यो रकम गत वर्षको सोही अवधिको तुलनामा १२.३७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको कात्तिक मसान्तसम्म बैंकहरूले निर्माण क्षेत्रमा १ खर्ब ८७ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेका थिए। एक वर्षको अवधिमा मात्र २३ अर्ब २४ करोड ७५ लाख रुपैयाँ नयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ।
विशेषगरी गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि क्षतिग्रस्त बनेका भौतिक संरचनाहरूको पुनर्निर्माण तीव्र बनेसँगै निर्माण क्षेत्रमा माग बढेको हो। साथै निर्माण सिजनले पनि रफ्तार लिँदा बैंकहरूको लगानी विस्तार हुँदै गएको देखिन्छ।
राष्ट्र बैंकका अनुसार समिक्षा अवधिमा अधिकांश बैंकहरूले निर्माण क्षेत्र चलायमान बनाउन कर्जा विस्तार गरेका छन्। नेपाल एसबिआई, कुमारी, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट मेगा र कृषि विकास बैंकले भने निर्माण क्षेत्रमा जाने कर्जा घटाएका छन्। तर यी बाहेकका अन्य सबै बैंकहरूले यस क्षेत्रमा जाने कर्जा उल्लेख्य रूपमा बढाएका छन्।
निर्माण क्षेत्रमा सबैभन्दा ठूलो ऋण लगानी नबिल बैंक, लक्ष्मी सनराइज बैंक र एनआइसी एशिया बैंकको रहेको छ। हाल नबिल बैंकको निर्माण क्षेत्रमा ऋण लगानी २५ अर्ब ९१ करोड १९ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा ७.४१ प्रतिशत बढी हो।
दोस्रो स्थानमा रहेको लक्ष्मी सनराइज बैंकले निर्माण क्षेत्रमा २२ अर्ब ७० करोड ७७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकले एक वर्षमा यस्तो कर्जाको आकार २५.४३ प्रतिशतले बढाएको छ। तेस्रो स्थानमा रहेको एनआइसी एशियाले पनि कर्जा २६.६४ प्रतिशत बढाएर २१ अर्ब ९ करोड १३ लाख रुपैयाँ पुर्याएको छ।
निर्माण क्षेत्रमा जाने कर्जा वृद्धिदरको हिसाबले भने सिटिजन्स बैंक शीर्ष स्थानमा रहेको छ। बैंकले यस्तो कर्जा ३९.८७ प्रतिशत बढाएर १७ अर्ब ५५ करोड १९ लाख रुपैयाँ पुर्याएको छ। दोस्रो स्थानमा रहेको एभरेष्ट बैंकले पनि ३५.६९ प्रतिशत वृद्धि गर्दै ४ अर्ब ५२ करोड ३९ लाख रुपैयाँ पुर्याएको छ।
यसैगरी माछापुच्छ्रे बैंकको कर्जा ३२.५१ प्रतिशत, एनएमबि बैंकको ३०.४७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको २३.२२ प्रतिशत, प्राइम बैंकको २१.८० प्रतिशत, नेपाल बैंकको १८.८७ प्रतिशत, ग्लोबल आइएमईको १७.२७ प्रतिशत, हिमालयन बैंकको ११.४४ प्रतिशत, सानिमा बैंकको ८.३१ प्रतिशत र प्रभु बैंकको ५.११ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
यता, नेपाल एसबिआई बैंकको निर्माण कर्जा ४८.१४ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डको १३.५४ प्रतिशत, कुमारीको ९.३७ प्रतिशत, सिद्धार्थको ८.०९ प्रतिशत, कृषि विकास बैंकको २.६६ प्रतिशत र एनआइएमबिको २.२४ प्रतिशत घटेको छ।


