तरुण खबर
५ श्रावण २०७८, मंगलवार १०:३५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका माधवकुमार नेपाल पक्षीय र केपी ओलीपक्षीय केही सांसदहरुले शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि शुरु भएको विवादले एमाले विभाजनको उत्कर्षमा पुगेको छ । अब एमाले फुट्छ कि एक नै रहन्छ ? भन्ने विषयमा चर्चा गर्नुको अर्थ नरहेको एमाले निकटहरुको भनाई छ । किन भने पहिलेजस्तो हार्दिकता, भावनात्मक एकता हुने कुनै सम्भावना छैन । तलैसम्म एमाले विभाजित भैसकेको छ ।
आइतबार प्रतिनिधिसभामा देउवाले प्रस्तुत गरेको विश्वासको मतको पक्षमा एमालेका २२ जना सांसदले मत दिएका थिए भने नेपालपक्षीय ११ सांसद उक्त मतदानमा अनुपस्थित भएका थिए । अर्थात एमालेका ३३ जना सांसदले पार्टी ह्वीप उलंघन गरेका थिए । २०७४ को निर्वाचनमा २३ जितेको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा त्यही संसद्मा ६०.८८ प्रतिशत अर्थात् १६५ सांसदको समर्थन पाएर शक्तिशाली प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा भारी बहुमत प्राप्त गरेका छन् ।
देउवालाई मत दिनेमा ओलीको पक्षधर भनिएका ८ जना सांसद पनि थिए । ओली मन्त्रिपरिषद्मा सदस्य रहेका र डोटीबाट निर्वाचित सांसद प्रेम आले पनि छन् । विश्वासको मत प्रकरणपछि अब एमाले एक ढिक्का रहन्छ कि फुट्छ भन्ने प्रश्नमा ओलीपक्षीय नेताहरूले देउवालाई मत दिनेहरू एमालेमा नरहने तर पार्टी एकता कामय रहने बताएका छन् । पार्टीको निर्देशन, निर्णय र विधान उल्लङ्घनसँग जोडेर हेरिन्छ । ह्विप उल्लङ्घन गरेको भनेर कारबाही नभए पनि देउवालाई विश्वासको मत दिने सांसदलाई अनुशासनको कारबाही हुने बताइन्छ । अन्तिम समयसम्म ओलीको पक्षमा रहेका तर आइतवार देउवालाई विश्वासको मत दिएका एक सांसदले आफूले सर्वोच्च अदालतको आदेशको सम्मान गर्न देउवालाई मत दिएको बताएका छन् । त्यस्तैमध्येका एकजना तनहुँबाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ किसानले सार्वजनिक रुपमै भनेका छन्– सर्वोच्च अदालतको फैसलाको सम्मान गरेको हो मैले । सर्वोच्च अदालतले विश्वासको मत दिने बेलासम्म कुनै ह्विप लाग्दैन भनेको छ । उनले विश्वासको मत हालेकै आधारमा पार्टीले आफूलाई कारबाही गर्न नसक्ने बताएका छन् ।
यद्यपि माधव नेपाल पक्षका नेताहरू देउवालाई मत दिनेहरू पनि पार्टीमै रहने र एकता पनि कायम हुने दाबी गर्छन् । ओलीपक्षीय एमाले नेता ईश्वर पोखरेले विश्वासको मत प्रकणपछि पार्टी एकीकरणका लागि भइरहेका प्रयासमा तत्कालका लागि ब्रेक लागेको बताएका छन् ।
उनले भनेका थिए– तर पनि यो एकता प्रक्रियासित अत्यन्त चिन्ताका साथ सहभागी रहेका साथीहरूसँग फेरि पनि छलफल जारी रहन्छ । पार्टीभित्रका आन्तरिक समस्या व्यवस्थित गर्ने मामिलामा हाम्रो प्रयत्न जारी रहन्छ । तर उनले देउवाको पक्षमा विश्वासको मत दिने व्यक्तिहरू पार्टीमा नरहने बताएका छन् । उहाँहरू अब पार्टीमा रहन सक्नुहुन्न । पार्टीको निर्णयविपरीत गएर विपक्षी गठबन्धनका प्रतिनिधिलाई विश्वासको मत दिएर जुन गतिविधि गर्नु भएको छ, त्यो अराजनीतिक, अनैतिक काम हो । त्यो कामका कारणले उहाँहरू फेरि तत्काल पार्टी कमिटीमा रहने कुरा म देख्दिनँ ।
माधव नेपालपक्षीय नेता सुरेन्द्र पाण्डेले पार्टी एकताका लागि प्रयास अझै जारी रहने बताएका छन् । उनले पार्टी एकता कामय राख्नका लागि नै एकताका लागि बनेको कार्यदलका सदस्य समेत रहेका व्यक्तिहरूले विश्वासको मतमा सहभागी नभएको बताए ।
उनका भनाइमा देउवालाई विश्वासको मत दिएकै घटनाका कारण पार्टी फुट्ने सम्भावना छैन । उनले भने–, हाम्रो एकताको प्रयास जारी छ । एकता जारी रहोस् भनेरै हामी कार्यदलका सदस्यहरू पनि रहेकाले कतै पनि भोट नहालेका हौँ । माधव नेपाल समूहकै सांसदहरूले देउवालाई मत दिएका कारण पार्टी फुट्छ कि भन्ने प्रश्नको उत्तरमा पाण्डेले भने– यसले हाम्रो पार्टी एकतालाई आजकै घटनाले तलमाथि पार्ला भन्ने मलाई लाग्दैन ।
देउवाले प्रस्तुत गरेको विश्वासको मतको पक्षमा एमालेका २२ जना सांसदले मत दिएका थिए भने नेपाल पक्षका ११ जना सांसदहरू उक्त मतदानमा सहभागी भएका थिएनन् । ओली समूहका एक नेता एवम् एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले पार्टीको निर्णय नमान्ने सांसदहरूलाई कारबाही गरिने जानकारी दिए । सोमवार बस्ने भनिएको केन्द्रीय कमिटी बैठकमा पनि त्यसबारे छलफल भयो तर कुनै निश्किर्ष निश्किएन । दलीय शासन व्यवस्थामा दलको निर्णय बेगर जहाँ जसले जेसुकै फैसला गरेको भए पनि दलको निर्णय नमान्नु भनेको दलको अनुशासन उल्लङ्घन हो । यस विषयमा ह्विप नमानेकाले वा उता भोट हालेकाले भन्ने हिसाबले कारबाही त नहोला अदालतको एकखालको व्याख्या भएकाले यद्यपि यो गम्भीर कुरा हो ।


