तरुण खबर
३ पुष २०८२, बिहीबार ११:४५
फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा आयोजना हुने विश्वकपका सबै १०४ खेलका लागि सीमित सङ्ख्यामा सस्ता टिकट सार्वजनिक गरेको छ। टिकट मूल्य अत्यधिक महँगो भएको भन्दै आलोचना बढेपछि फिफाले समर्थक–मैत्री निर्णय लिएको हो।
फिफाका अनुसार विश्वकपका खेलका लागि उपलब्ध गराइने सबैभन्दा सस्ता टिकटको मूल्य करिब ४५ पाउन्ड तोकिएको छ, जुन नेपाली रुपैयाँमा करिब ८ हजार ७०० देखि ८ हजार ७५० रुपैयाँ पर्छ। यी टिकट विश्वकपमा छनोट भएका देशका समर्थकहरूका लागि विशेष रूपमा उपलब्ध गराइनेछन्।
यो मूल्य ‘सपोर्टर एन्ट्री टियर’ अन्तर्गत पर्छ, जुन सबैभन्दा सस्तो श्रेणी हो। यो प्रत्येक सहभागी देशको कुल टिकट कोटाको १० प्रतिशत हुनेछ। इंग्ल्यान्ड र स्कटल्यान्डका हकमा समूह चरणका प्रत्येक खेलका लागि करिब ४०० टिकट मात्र यस श्रेणीमा उपलब्ध हुने फिफाले जनाएको छ।
फिफाको निर्णयलाई बेलायतका प्रधानमन्त्री सर कीअर स्टार्मरले स्वागत गरेका छन्। तर उनले अझै सुधार आवश्यक रहेको धारणा राख्दै भने, “म आफैँ इंग्ल्यान्डका खेल हेर्न टिकटका लागि बचत गर्ने समर्थक हुँ। विश्वकपले वास्तविक समर्थकहरूसँगको सम्बन्ध कायम राख्न फिफाले टिकट अझ सस्तो बनाउनुपर्छ।”
यसअघि रहेको मूल्य संरचनाअनुसार इंग्ल्यान्डले फाइनलसम्मका सबै खेल हेर्न चाहने समर्थकलाई ५ हजार पाउन्डभन्दा बढी खर्च लाग्ने अवस्था थियो। २०२६ विश्वकपका लागि प्रारम्भिक योजनामा इंग्ल्यान्ड र स्कटल्यान्डका खेलका टिकट १९८ पाउन्डदेखि ५२३ पाउन्डसम्म पर्ने देखिएको थियो। फाइनल खेलको सस्तो टिकट नै ३,११९ पाउन्ड तोकिएको छ, जुन २०२२ को कतार विश्वकपको तुलनामा करिब सात गुणा महँगो हो।
फिफाका अनुसार, प्रत्येक सहभागी संघको कुल टिकट कोटामध्ये ५० प्रतिशत सस्तो श्रेणीमा, ४० प्रतिशत ‘सपोर्टर भ्यालु टियर’मा र १० प्रतिशत ‘सपोर्टर एन्ट्री टियर’मा राखिनेछ। बाँकी टिकट मध्यम तथा प्रिमियम श्रेणीमा बिक्री गरिनेछ।
क्यानडा, मेक्सिको र अमेरिकामा आयोजना हुने २०२६ विश्वकपका लागि टिकट मूल्यसम्बन्धी निर्णय कतारको दोहामा सम्पन्न बैठकपछि सार्वजनिक गरिएको हो। फिफाले जारी गरेको विज्ञप्तिमा टिकट वितरण सम्बन्धित राष्ट्रिय फुटबल संघहरूले नै गर्ने र निष्ठावान समर्थकलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ।


