तरुण खबर
३ पुष २०८२, बिहीबार ११:५५
हाल नेपालका बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम धेरै भएको छ। कर्जा प्रवाह गर्न नसक्दा बैंकिङ प्रणालीमा पैसा थुप्रिएको अवस्थामा नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन गर्ने काम तीव्र बनाएको छ।
राष्ट्र बैंकले हाल एक महिनामा ४ खर्ब १५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ। यसैक्रममा आज मात्र राष्ट्र बैंकले २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने योजना बनाएको छ। यससँगै एक महिनाभित्र नौपटक निक्षेप संकलन भएको छ।
मंसिर महिनामा मात्र राष्ट्र बैंकले ८ पटक निक्षेप संकलन गरेको थियो। विवरणअनुसार:
३ गते: ५० अर्ब
७ गते: ५० अर्ब
१० गते: ३० अर्ब
१४ गते: ४० अर्ब
१७ गते: ६० अर्ब
२१ गते: ९० अर्ब
२४ गते: ४० अर्ब
२८ गते: ३५ अर्ब
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा आधारित हुने बताइएको छ। राष्ट्र बैंकले आवश्यक भए बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्ने जनाएको छ।
यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्छन्। तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकको सक्रिय भूमिका बैंकिङ प्रणालीमा वित्तीय सन्तुलन कायम राख्न महत्वपूर्ण ठहरिएको छ।


