डिभी लट्री अस्थायी रूपमा बन्द गर्ने अमेरिकाको घोषणा

डिभी लट्री अस्थायी रूपमा बन्द गर्ने अमेरिकाको घोषणा तरुण संवाददाता ४ पुष २०८२, शुक्रबार १६:०८
डिभी लट्री अस्थायी रूपमा बन्द गर्ने अमेरिकाको घोषणा

काठमाडौँ। अमेरिकाले ग्रिन कार्ड लट्री (डीभी लट्री) नखोल्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी लट्री रोक्का गर्न निर्देशन दिएसँगै अब सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसले यो कार्यक्रम नखोल्ने भएको छ ।

अमेरिकाको ब्राउन युनिभर्सिटी तथा एमआईटीमा भएको गोली प्रहारको घटनापछि राष्ट्रपति ट्रम्पले यस्तो निर्णय गरेका हुन्। अमेरिकाको आन्तरिक सुरक्षा मन्त्री (होमल्यान्ड सेक्युरिटी सेक्रेटरी) क्रिस्टी नोमले ट्रम्पको निर्देशनपछि आफूले अमेरिकाको सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसलाई यो कार्यक्रम रोक्न निर्देशन दिएको बताएकी छिन्।

ब्राउन र एमआईटीमा भएको गोलीकाण्डका आरोपी ४८ वर्षका पोर्चुगिज क्लाउडियो नेभेस भालेन्टेले डिभी परेर अमेरिका पुगेका थिए। २०१७ देखि उनी अमेरिकामा बस्दै आएका थिए। स्थानीय समयअनुसार बिहीबार साँझ उनी मृत अवस्थामा भेटिएका थिए। उनले आफैँलाई गोली हानेका थिए।

नेभेस भालेन्टेले ब्राउन युनिभर्सिटीमा अन्धाधुन्द गोली हान्दा दुईजना विद्यार्थी मारिएका थिए । आठजना घाइते भएका थिए। उनले एमआईटीका एकजना प्रोफेसरको हत्या गरेका थिए। ‘यो जघन्य अपराधमा संलग्नले हाम्रो देश आउने अनुमति कहिल्यै पनि पाउनु हुँदैनथ्यो,’ मन्त्री नोमले भनेकी छिन्।

अमेरिकाले प्रत्येक वर्ष ५० हजार मानिसलाई डिभीमार्फत अमेरिकामा स्थायी बसोबासका लागि लैजाने गर्छ। सन् २०२५ मा विश्वभरका करिब दुई करोड मानिसले डीभी भरेका थिए। डिभी लट्रीमार्फत अमेरिकामा स्थायी बसोबासमा जाने प्रक्रियामा प्रत्येक वर्ष हजारौँ नेपाली सहभागी हुँदै आएका छन्।