तरुण खबर
६ श्रावण २०७८, बुधबार ०९:४८
कठमाडौं । नेपाली कांग्रेसका १० जना नेताले क्रियाशील सदस्यताको सन्दर्भमा विज्ञप्ति जारी गर्दै निर्धारित मितिमा महाधिवेशन हुनेमा शंका व्यक्त गरेका छन् । यसरी आशंका गर्ने केन्द्री सदस्यहरुमा डा.चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादव रहेका छन् ।
यी नेताहरुले नेपाली काँग्रेसको १४औं महाधिवेशन निर्धारित समयमै हुनु पर्ने जिकिर गर्दै तत्काल क्रियाशिल सदस्यताको विवाद टुंग्याउँन पनि आग्रह गरेका छन् । केही जिल्लाका नेता, कार्यकर्ता नेपाली काँग्रेसको केन्द्रीय कार्यालय, सानेपामा धर्ना र आमरण अनसनमा बसेका छन् । उदाहरणका लागि सर्लाही, धनुषाका नेपाली कांग्रेसको क्रियाशिल सदस्यता वितरणलाई लिएर पार्टी कार्यालय, सानेपामा क्षेत्रीय सभापति दिनेश मिश्र, धनुषाका पूर्व सांसद चन्द्रमोहन यादवलगायत धर्ना बसेका छन् ।
उनीहरुले क्रियाशिल सदस्यको विवादले निर्धारित समयमा महाधिवेशन नहुने कुरामा आशंका मात्र गरेका छैनन्, धर्ना र आमरण अनशनसम्म बस्नुपर्ने अवस्था आउनु गम्भीर भएको बताएका छन् । हिजो मंगलबार एक विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यतासम्बन्धी विवादले पार्टी केन्द्रीय कार्यालयसम्म आएर धर्ना र आमरण अनशनसम्म बस्नुपर्ने अवस्था आउनु गम्भीर भएको उनीहरूको भनाई छ ।
विधि र प्रक्रिया नाघेर जथाभावी वितरण गरिएका क्रियाशील सदस्यताले पार्टीलाई बलियो नबनाउने उनीहरूको भनाई छ । समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रक्रिया बाहिरबाट वितरण गरिएका क्रियाशील सदस्यताले पार्टीको मर्ममाथि प्रहार गरेको विज्ञप्तिमा उल्लेख छ । महाधिवेशनका लागि समयको सुविधा नभएको बताउँदै उनीहरूले उपलब्ध समयसमेत साँघुरिँदै गएको र यस्तो वेला क्रियाशील सदस्यको विवादलाई कायम राख्नु र बढाउनु युक्तिसंगत नहुने प्रेस विज्ञप्तिमा भनेका छन् । ‘पार्टी विधानले निर्दिष्ट गरेको प्रक्रिया, मापदण्ड र केन्द्रीय समितिको निर्णयविपरीत गरिने कार्यले कसैको भलो गर्दैन,’ विज्ञप्तिमा भनिएको छ । उनीहरूले क्रियाशील सदस्यता छानबिन समिति र समायोजन समितिलाई पार्टीको लोकतान्त्रिक प्रतिष्ठा र छविको जगेर्ना गर्दै उत्पन्न समस्याहरूको विधिसंगत र तार्किक समाधान गर्न उक्त समितिलाई आग्रह गरेका छन् ।


