तरुण खबर
६ पुष २०८२, आईतवार ११:५९
यस वर्ष भोजपुर जिल्लामा असामयिक मौसमका कारण धान उत्पादनमा कमी आएको छ। कृषि ज्ञान केन्द्रका अनुसार आवश्यक समयमा पर्याप्त वर्षा नहुँदा र रोपाइँपछि अनियमित वर्षा हुँदा उत्पादनमा असर परेको छ।
गत वर्ष जिल्लामा ३७,७९० मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष मात्र ३६,९९८ मेट्रिक टन उत्पादन भएको छ। यसैगरी, गत वर्ष १२,१५४ हेक्टर क्षेत्रमा धान खेती भए पनि यस वर्ष ११,५०० हेक्टरमा मात्र खेती भएको छ।
कृषि ज्ञान केन्द्रका अनुसार करिब ७८ हेक्टर क्षेत्रमा रोपाइँ गरिएको धान अनियमित वर्षाले आंशिक वा पूर्णरूपमा क्षति भएको छ।
जिल्लाका सबै स्थानीय तहका तल्लो भूभाग र उपत्यकामा धान खेती हुन्छ। केही उपयुक्त उपत्यकामा किसानहरूले वर्षमा दुई पटक धान उत्पादन गर्दै आएका छन्।
केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार, समयमै वर्षा नहुँदा रोपाइँ प्रभावित भयो भने केही स्थानमा बाढीका कारण धानको बाली नष्ट भएको छ। धान उत्पादन घटे पनि कृषकहरूलाई उन्नत खेती विधि अपनाएर र समयमा सिंचाइ व्यवस्थापन गर्दै उत्पादन सुधार गर्ने सुझाव दिइएको छ।


