नवलपुरमा मोडल मुख्यालय समयमै पूरा गर्न मन्त्री घिसिङको निर्देशन

नवलपुरमा मोडल मुख्यालय समयमै पूरा गर्न मन्त्री घिसिङको निर्देशन तरुण खबर ६ पुष २०८२, आईतवार १२:०२
नवलपुरमा मोडल मुख्यालय समयमै पूरा गर्न मन्त्री घिसिङको निर्देशन

भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास मन्त्री कुलमान घिसिङले नवलपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा निर्माणाधीन मोडल मुख्यालयको काम तोकिएको समयभित्र सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।

मन्त्री घिसिङ आज जिल्लाको कवासोती नगरपालिका–३ स्थित निर्माणस्थल निरीक्षणका क्रममा ठेकेदारलाई काममा ढिलाइ नगरी समयमै सम्पन्न गर्न निर्देशन दिएका हुन्। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका मन्त्री घिसिङले मोडल मुख्यालयको वर्तमान प्रगतिको बारेमा परियोजनाबाट जानकारी लिएका थिए।

मन्त्री घिसिङले सबै सरोकारवालालाई काममा ढिलाइ नगर्न आग्रह गर्दै निर्माण चरणमा कुनै अवरोध आए आफू सक्रिय भएर हटाउने आश्वासन समेत दिएका छन्।

चितवन डेंस अर्बन तथा भवन निर्माण परियोजनाका सूचना अधिकारी द्रोण कटवालका अनुसार, प्रारम्भिक चरणमा केही प्राविधिक समस्याहरू भए पनि हाल कुनै समस्या छैन। मोडल मुख्यालयको निर्माण २०१९ मा कवासोती–३, नवलपुरको १८७ विघा जग्गामा सुरु भएको हो।

परियोजना कार्यालयका अनुसार, मोडल मुख्यालय निर्माण स्थलमा दुईवटा फरक ठेक्का अन्तर्गत अलग–अलग कार्यालय भवनहरू निर्माण भइरहेको छन्। निर्माण मास्टरप्लानअनुसार यहाँ संघीय र प्रदेश सरकारका सबै कार्यालय, पार्किङ क्षेत्र, बगैंचा, २५,००० दर्शक क्षमता भएको फुटबल स्टेडियम, १५,००० दर्शक क्षमता भएको क्रिकेट स्टेडियम, कर्मचारी आवास, अतिथि गृह, सभा भवन, पुस्तकालय, क्याफेटेरिया लगायतका संरचना निर्माण हुनेछन्।

प्रारम्भिक मास्टरप्लान अनुसार यस परियोजनाको कुल लागत रु १६ अर्ब २५५ मिलियन ३९० हजार निर्धारण गरिएको छ। मन्त्री घिसिङको निर्देशनपछि निर्माण कम्पनीले निर्धारित समयमै मोडल मुख्यालय निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।