रिलायबल लाइफमा साधारण सभाको तयारी

रिलायबल लाइफमा साधारण सभाको तयारी तरुण खबर ७ पुष २०८२, सोमबार १२:०७
रिलायबल लाइफमा साधारण सभाको तयारी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको आइतबार बसेको बैठकले यही पुस २९ गते काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभामा कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। प्रस्तावअनुसार हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने ६२ करोड ३६ लाख ३९ हजार ३८५ रुपैयाँ ६० पैसाबराबरको लाभांश वितरण गर्ने एजेन्डा रहेको छ।

यसैगरी, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गर्नेछ।

लाभांश वितरण र सभा प्रयोजनका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार पुस २१ गतेभन्दा अघिसम्म कायम रहेका शेयरधनीहरू मात्र साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

साधारण सभा र लाभांश प्रस्तावसँगै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका शेयरधनीहरूमा सकारात्मक अपेक्षा बढेको छ।