ह्याकरका कारण बैंकहरु आतंकित, खोजिमा सुरक्षा निकाए

ह्याकरका कारण बैंकहरु आतंकित, खोजिमा सुरक्षा निकाए तरुण खबर ८ श्रावण २०७८, शुक्रबार १०:१२
ह्याकरका कारण बैंकहरु आतंकित, खोजिमा सुरक्षा निकाए

काठमाडौं । सामाजिक सञ्जालमार्फत् वित्तीय समुदायका व्यक्तिहरू र बैंकहरुलाई ह्याकरहरुले धम्कि दिएका छन् । उक्त सन्देशपछि बिहीवार राष्ट्र ब्याङ्कका प्रवक्तालाई अनलाइन कलमार्फत् फोन समेत आएको थियो । राष्ट्र बैंकका प्रवक्ताले भने– मलाई बिहान (बिहीवार) अचानक एउटा कल आएको थियो, नचिनेको नम्बरबाट ।

योर सिस्टम ह्याज बिन ह्याक्ड, इन्क्यूडिङ नेपाल बैंक लिमिटेड एण्ड नबिल बैंक लिमिटेड भनेर फोन काटियो, प्रवक्ताले भनेको भनी द्रुत गतिमा फैलियो यो सन्देश । त्यो फोन ट्र्याक गर्न सकिने अवस्था देखिएको थिएन । उक्त घटनापछि आफूले सबै बैंक र राष्ट्र बैंकको सूचना प्रविधि विभागलाई आफूले जानकारी गराएको प्रवक्ताको भनाई थियो । उनका अनुसार बुधवार सामाजिक सञ्जालमा फैलिरहेको धम्कीपूर्ण सन्देशबारे जानकारी प्राप्त भएपछि नै राष्ट्र बैंकले सबै बैंकहरूलाई सचेत पनि गराएको थियो ।

राष्ट्र बैंक र वाणिज्य बंैकका अधिकारीले बताएअनुसार उक्त सन्देश र फोन कल “आतङ्कित पार्ने उद्देश्यले“ आएको जस्तो देखिएको छ । यद्यपि सम्भावित साइबर हमलालाई दृष्टिगत गरेर अहिले उच्च सतर्कता अपनाइएको उनीहरूको भनाइ छ । सन् २०१९ मा चिनियाँ नागरिकहरूले एटीएम ह्याक गरेर पैसा चोरेको आरोपमा पक्राउ परेका थिए ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले उक्त घटनाबारे औपचारिक रूपमा उजुरी नपरेको बताएका छन् । यद्यपि खबरहरूमा उक्त घटनाबारे थाहा पाएपछि प्रहरीको साइबर ब्यूरोले राष्ट्र बैंकसँग समन्वयमा काम गरिरहेको उनको भनाइ थियो । त्यस्तै नेपाल बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडका अधिकारीहरूले पनि उच्च सतर्कता अपनाएको बताएका छन् ।

नेपालको केन्द्रीय बैंकसहित विभिन्न बैंक प्रणाली ह्याक गरेर ठूलो हानि पु¥याउने बेहोराको एउटा सन्देश सामाजिक सञ्जालमा भाइरल भएपछि आफूहरूले उच्च साइबर सुरक्षा सतर्कता अपनाएको वित्तीय अधिकारीहरूले बताएको बीबीसी अनलाइन सेवामा उल्लेख छ । नेपाल राष्ट्र बैंकका अधिकारीका अनुसार उक्त सन्देशबारे सबै वित्तीय संस्थालाई जानकारी गराएर आफ्नो प्रणाली चुस्त राख्न निर्देशन दिइएको छ । नेपाल प्रहरीका प्रवक्ताले उक्त घटनाबारे साइबर ब्यूरोले राष्ट्र बैंकसँगको समन्वयमा काम गरिरहेको जानकारी दिएका छन् । एक साइबर सुरक्षाविज्ञका अनुसार यो प्रकरणमा ह्याकिङ गर्नेभन्दा पनि धम्की दिने उदेश्य रहेको जस्तो देखिएको छ ।

राष्ट्र बैंक र कतिपय वाणिज्य बैंकका अधिकारीहरूका अनुसार बुधवारदेखि वित्तीय क्षेत्रका व्यक्तिबीच सामाजिक सञ्जालबाट एउटा “इमेलको स्क्रीनशट“ आदानप्रदान भएको थियो । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल, सहप्रवक्ता नारायणप्रसाद पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको इमेल ठेगानामा पठाइएको जस्तो देखिने बनाइएको उक्त स्क्रीनशटमा राष्ट्र बैंक र नेपालका १४ वटा वाणिज्य बैंकको नामै तोकेर “ह्याकिङको धम्की दिइएको अधिकारीहरूले बताएका थिए । तर त्यो स्क्रीनशटमा उल्लेख भएको जस्तो इमेल आफूहरूले प्राप्त नगरेको राष्ट्र ब्याङ्कका प्रवक्ता र सहप्रवक्ताले जानकारी दिएका छन् । हामीले इन्बक्समा मात्र होइन स्प्याम मेलमा पनि त्यस्तो इमेल प्राप्त गरेका छैनौँ, प्रवक्ताले अगाडी भने– अझ अनिल शाहको त इमेल ठेगाना नै गलत छ भन्ने कुरा आएको छ । उक्त स्क्रीनशट हेर्दा त्यो फोटोशप गरेर बनाइएको जस्तो देखिएको त्यसलाई हेरेका अधिकारीहरूको भनाइ छ ।

उक्त स्क्रीनशटका कारण बुधवारदेखि नै बैंक क्षेत्रमा तरङ्ग पैदा भएको निजी बैंकका अधिकारीहरूले बताए । कतिपयका भनाइमा उक्त सन्देशपछि बुधवार रातिदेखि नै कैयौँ बैंकहरूले आफ्नो प्रणालीमा आक्रमण भएको वा हुन सक्ने भन्दै उच्च सतर्कता अपनाएका थिए ।

साइबर सुरक्षाविज्ञ विजय लिम्बूका भनाइमा यो प्रकरणमा ह्याकरले ह्याकिङ गर्नेभन्दा पनि आतङ्क फैलाउने मात्र उद्देश्य राखेको जस्तो देखिन्छ । उनले भने– यो स्क्रीनशट नै ह्याकरको आधिकारिक हो कि होइन भन्नेमा शङ्का देखिएको छ । आपराधिक कार्य गर्नेहरूले यसरी हल्ला गर्नेभन्दा पनि तिम्रो प्रणालीको यो डेटासम्म मेरो पहुँच छ भनेरै स्क्रीनशट राख्ने र ¥यान्सम (पैसा) माग्ने गर्छन् । यो घटनामा त्यस्तो देखिएको छैन । कसैले प्यांक्र गरेको पनि हुन सक्छ । लिम्बूका भनाइमा पछिल्ला वर्षहरूमा नेपालको बैंक प्रणालीमा साइबर सुरक्षालाई विशेष ध्यान दिन थालिएको देखिएको छ । पहिलेभन्दा नेपालको बैंक प्रणालीमा निकै सुरक्षित भइसकेको छ तर खतरा त रहिरहने भएकाले यस्ता धम्कीलाई पनि गम्भीर रूपमा लिनुपर्छ उनले भनेका थिए ।