तरुण खबर
९ श्रावण २०७८, शनिबार १०:१३
काठमाडौं । काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत साउन १२ गतेबाट हुने भनिएको वडा तहको अधिवेशन कम्तीमा १५ दिन सर्ने निश्चित भएको छ । सरकार सञ्चालन, कोभिड महामारी, वर्षायाम, बाढीपहिरो, क्रियाशील सदस्यता विवाद र अन्य पूर्वतयारीमा भएको ढिलासुस्तीका कारण महाधिवेशनको कार्यतालिका प्रभावित हुने देखिएको छ । केन्द्रीय महाधिवेशनको मिति नजिकिँदै गर्दा क्रियाशील सदस्यता विवाद, निर्वाचन निर्देशिकाको मस्यौदा र अन्य पूर्वतयारी टुंगिन सकेको छैन । त्यसैले केन्द्रीय महाधिवेशनको मिति पर धकेलिने निश्चित भएको छ ।
सबैभन्दा तल्लो तह ६ हजार सात सय ४३ वडामा एकसाथ अधिवेशन गर्ने तालिका भए पनि त्यसको कुनै तयारी अघि बढेको छैन । अहिलेसम्म क्रियाशिल सदस्यको विवाद टुंगिएको छैन । नेपाली काँग्रेसको १३औं महाधिवेशनमा करीब ४ लाख ७० हजार शक्रिय सदस्य रहेकोमा यस पटक करीब ८ लाख ५० हजार पु¥याइएको बुझिएको छ । अतः अधिवेशनका लागि न मतदाताको टुंगो लागेको छ, न त निर्वाचनको कुनै तयारी नै अघि बढेको छ ।
केन्द्रीय निर्वाचन समितिले अहिलेसम्म कसरी निर्वाचन गर्ने भन्ने निर्वाचन निर्देशिकासमेत जारी नगरेको अवस्थामा अधिवशेन सर्ने निश्चित भएको हो । भोलि पदाधिकारी बैठक बसेर त्यसबारे निर्णय गर्ने सम्भावना रहेको काँग्रेसका नेताहरुले प्रेससँग बताएका छन् । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले साउन १२ गतेबाट अधिवेशन हुन्न भनेर सबैलाई थाहा भए पनि यथार्थ भन्न डराउनुपर्ने अवस्था रहेको बताएका छन् । किन भने क्रियाशील सदस्यकै टुंगो नलागेको अवस्थामा वडाको अधिवेशन नहुने निश्चित भइसकेको भए पनि अधिवेशन हुँदैन भनेर कसैले पनि नभनेको भन्दै नेता सिटौलाले ‘कांग्रेस यथार्थ भन्न डराउने अवस्थामा’ पुगेको टिप्पणी गरेका हुन् । तल्ला तहको अधिवेशन अनिश्चित हुँदा भदौमा गर्ने भनिएको महाधिवेशन पनि सर्ने सम्भावना बढेको छ । बैठकमा सभापतिजी र रामचन्द्रजी दुवैले भदौमै जसरी पनि महाधिवेशन हुन्छ भन्नुभयो । अब पहिले तोकेको मितिमा महाधिवेशन हुँदैन भनेर सबैलाई थाहा छ । तर, कोही पनि हुँदैन भन्न तयार छैनन्,’ एक नेताले जानकारी दिए ।


