अशान्त विश्वमा शान्तिका प्रेरणा

अशान्त विश्वमा शान्तिका प्रेरणा तरुण खबर १६ पुष २०८२, बुधबार ११:२०
अशान्त विश्वमा शान्तिका प्रेरणा

अंग्रेजी वर्ष सन् २०२५ विश्वका लागि शान्ति र सुरक्षा महसुस गर्न दुर्लभ बन्दै गएको वर्षका रूपमा चिनिँदैछ। विश्वभर युद्धको संख्या बढ्दो छ, सीमा सुरक्षाहरू कडा बनाइएका छन् र विभिन्न देशहरूबीच व्यापारिक तनावसमेत चुलिँदै गएको छ। ग्लोबल पिस इन्डेक्स (जीपीआई) का अनुसार राज्य–आधारित द्वन्द्वहरूको संख्या दोस्रो विश्वयुद्धपछिकै उच्च तहमा पुगेको छ, जसअन्तर्गत यस वर्ष मात्र तीन नयाँ द्वन्द्व सुरु भएका छन्। धेरै मुलुकहरूले यस अवस्थाको जवाफस्वरूप सैनिक बल र खर्च बढाइरहेका छन्।

यद्यपि, यस्ता तनावपूर्ण अन्तर्राष्ट्रिय परिस्थितिबीच पनि केही देशहरूले शान्ति, सामाजिक विश्वास र आन्तरिक स्थायित्वलाई प्राथमिकतामा राख्दै नागरिकलाई सुरक्षित र सहज जीवन प्रदान गरिरहेका छन्। जीपीआईले बाह्य द्वन्द्व, सैनिक खर्च, आतंकवाद, हत्या दर र सुरक्षा संयन्त्रलगायत २३ सूचकांकका आधारमा विश्वका देशहरूको शान्ति अवस्था मूल्याङ्कन गर्दै आएको छ।

पछिल्ला करिब दुई दशकदेखि केही देशहरू निरन्तर रूपमा शान्ति र सुरक्षाको शीर्ष स्थानमा रहँदै आएका छन्। ती देशका नीति, संस्कृति र जीवनशैलीले नागरिकको दैनिक जीवनमा कसरी शान्ति र सुरक्षा अनुभूति गराउँछन् भन्ने कुरा यस वर्षको सूचीकै मुख्य सन्देश बनेको छ।

आइसल्याण्डः शान्त जीवनको विश्वव्यापी उदाहरण

सन् २०२५ मा पनि आइसल्याण्ड विश्वको सबैभन्दा शान्त राष्ट्रको स्थानमा कायम छ। सन् २००८ यता निरन्तर शीर्ष स्थानमा रहँदै आएको आइसल्याण्डले यस वर्ष आफ्नो शान्ति सूचकाङ्कमा थप २ प्रतिशत सुधार गरेको छ। यहाँ अपराध दर अत्यन्त न्यून छ, प्रहरी सामान्यतया बन्दुकबिना नै काम गर्छन् र नागरिकहरू राति पनि निर्धक्क हिँड्न सक्छन्। स्थायी सेनाको अभाव, लैङ्गिक समानता, सामुदायिक विश्वास र प्रकृतिसँग जोडिएको जीवनशैलीले आइसल्याण्डलाई दैनिक जीवनमै शान्त राष्ट्रको अनुभूति दिने देश बनाएको छ।

आयरल्याण्डः द्वन्द्वपछि स्थायित्वको यात्रा

एक समय आन्तरिक द्वन्द्वको पीडा भोगेको आयरल्याण्ड पछिल्ला दशकमा शान्ति, समावेशिता र सामाजिक सहकार्यमा केन्द्रित हुँदै आएको छ। सैन्य तटस्थता, कूटनीति र समुदाय–आधारित जीवनशैलीले यहाँको दैनिक जीवनलाई सुरक्षित र सहज बनाएको स्थानीय बासिन्दाहरू बताउँछन्।

न्यूजिल्याण्डः भरोसा र प्रकृतिमा आधारित शान्ति

२०२५ मा ग्लोबल पिस इन्डेक्समा दुई स्थान माथि उक्लँदै न्यूजिल्याण्ड तेस्रो शान्त राष्ट्र बनेको छ। कडा बन्दुक कानुन, न्यून अपराध दर, आपसी भरोसा र प्राकृतिक वातावरणसँगको घनिष्ठ सम्बन्धले यहाँको शान्ति संस्कृतिलाई बलियो बनाएको छ।

अष्ट्रिया र सिङ्गापुरः फरक बाटो, समान शान्ति

अष्ट्रियाले तटस्थ विदेश नीति र आन्तरिक विकासमा जोड दिँदै शान्त राष्ट्रको पहिचान बनाएको छ। सिङ्गापुर भने एशियाको एकमात्र शीर्ष १० शान्त राष्ट्रका रूपमा कानूनको कडाइ, व्यवस्थित प्रशासन र सार्वजनिक सुरक्षाका कारण उदाहरणीय बनेको छ।

जापान, स्वीडेन, डेनमार्क र फिनल्याण्डः सामाजिक विश्वासको शक्ति

यी देशहरूमा अपराध न्यून, सार्वजनिक सेवा प्रभावकारी र समुदायमा आपसी भरोसा बलियो छ। शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा गरिएको लगानीले नागरिकलाई स्थिर र सुरक्षित जीवन प्रदान गरेको छ।

क्यानाडाः विविधतामै शान्ति

क्यानाडा सुरक्षा, सांस्कृतिक विविधता र सामाजिक समावेशीताको सन्तुलनमार्फत शीर्ष १० शान्त राष्ट्रभित्र पर्न सफल भएको छ। यहाँ विभिन्न समुदायबीच सहअस्तित्व, सहयोग र पारस्परिक सम्मानले सामाजिक तनाव न्यून बनाएको छ।

समग्रमा, सन् २०२५ विश्वव्यापी तनाव र द्वन्द्वले चिनिएको वर्ष भए पनि यी देशहरूले देखाएका नीतिगत प्राथमिकता, सामाजिक विश्वास र समुदाय–केन्द्रित जीवनशैलीले शान्ति केवल युद्धको अभाव होइन, दैनिक जीवनमा अनुभूत हुने सुरक्षा र मानसिक सन्तुलन पनि हो भन्ने सन्देश दिएको छ।