बीवाईडीको उडान, विश्व ईभी बजारमा नयाँ नेतृत्व

बीवाईडीको उडान, विश्व ईभी बजारमा नयाँ नेतृत्व तरुण खबर १८ पुष २०८२, शुक्रबार १०:५९
बीवाईडीको उडान, विश्व ईभी बजारमा नयाँ नेतृत्व

चिनियाँ इलेक्ट्रिक सवारी निर्माता बीवाईडी (BYD) ले अमेरिकी कम्पनी टेस्लालाई पछि पार्दै विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रिक भेहिकल (ईभी) विक्रेता बन्ने दिशामा निर्णायक फड्को मारेको छ। वार्षिक बिक्रीका आधारमा टेस्लालाई पहिलो पटक उछिन्ने तयारीमा पुगेको बीवाईडीको यो उपलब्धिले विश्व ईभी बजारमा नयाँ नेतृत्वको संकेत दिएको छ।

बीवाईडीले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार सन् २०२५ मा कम्पनीको ब्याट्री–चालित कार बिक्री करिब २८ प्रतिशतले वृद्धि भई २२ लाख ५० हजारभन्दा बढी पुगेको छ। यो तथ्यांकसँगै बीवाईडी विश्व ईभी बजारको शीर्ष स्थानमा पुगेको छ।

उता, एलन मस्कको नेतृत्वमा रहेको टेस्लाले सन् २०२५ को कुल बिक्री तथ्यांक शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ। तर यसअघि आएका विश्लेषकहरूको अनुमानअनुसार टेस्लाले वर्षभरिमा करिब १६ लाख ५० हजार सवारी साधन मात्र बिक्री गरेको देखिन्छ, जुन बीवाईडीको तुलनामा निकै कम हो।

विश्लेषकहरूका अनुसार सन् २०२५ मा टेस्लाले विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको छ। नयाँ मोडलप्रति बजारको चासो अपेक्षाकृत कमजोर रहनु, एलन मस्कका राजनीतिक गतिविधिप्रति उठेको असन्तोष र चिनियाँ कम्पनीहरूसँगको तीव्र प्रतिस्पर्धाले टेस्लाको बिक्री प्रभावित भएको बताइएको छ। बिक्री बढाउने प्रयासस्वरूप टेस्लाले गत अक्टोबरमा अमेरिकामा आफ्ना दुई सबैभन्दा बढी बिक्री हुने मोडलका सस्तो संस्करण सार्वजनिक गरेको थियो। सस्तो र नयाँ मोडल ल्याउन ढिलाइ गरेको भन्दै यसअघि कम्पनी आलोचनामा परेको थियो।

यसैबीच, विश्वकै धनी व्यक्तिका रूपमा परिचित एलन मस्कमाथि आगामी दशकमा टेस्लाको बिक्री र सेयर बजार मूल्य उल्लेखनीय रूपमा बढाउने दबाब पनि बढेको छ। नोभेम्बरमा सेयरधनीहरूले स्वीकृत गरेको पारिश्रमिक सम्झौताअनुसार मस्कले अधिकतम १ ट्रिलियन अमेरिकी डलर बराबरको पारिश्रमिक पाउन सक्ने सम्भावना रहेको छ। टेस्लाबाहेक मस्क सामाजिक सञ्जाल प्लेटफर्म एक्स, अन्तरिक्ष कम्पनी स्पेसएक्स र बोरिङ कम्पनीजस्ता अन्य व्यवसायको पनि नेतृत्व गरिरहेका छन्।

उता, चीनको शेन्जेनमा मुख्यालय रहेको बीवाईडी पछिल्ला वर्षहरूमा तीव्र गतिमा विस्तार हुँदै विश्व ईभी उद्योगको शक्तिशाली खेलाडी बनेको छ। प्रतिस्पर्धी कम्पनीहरूको तुलनामा सस्तो मूल्यमा सवारी साधन उपलब्ध गराउँदै आएको बीवाईडीले ल्याटिन अमेरिका, दक्षिण–पूर्वी एसिया र युरोपका केही मुलुकमा उल्लेखनीय बजार विस्तार गरेको छ।

चिनियाँ ईभीमाथि धेरै देशहरूले उच्च भन्सार शुल्क लगाए पनि बीवाईडीको विस्तार भने रोकिएको छैन। गत अक्टोबरमा कम्पनीले बेलायत चीन बाहिरको सबैभन्दा ठूलो बजार बनेको जानकारी दिएको थियो। कम्पनीका अनुसार सेप्टेम्बरसम्मको एक वर्षको अवधिमा बेलायतमा बीवाईडीको बिक्री ८८० प्रतिशतले वृद्धि भएको छ, जसको प्रमुख कारण ‘सिल यू’ प्लग–इन हाइब्रिड एसयूभीप्रतिको उच्च माग रहेको छ।