तरुण खबर
२० पुष २०८२, आईतवार ११:२९
अमेरिकी सैन्य अपरेशनका क्रममा राष्ट्रपति निकोलास मादुरो पक्राउ परेपछि भेनेजुएलाको शासन सत्ता उपराष्ट्रपति डेल्सी रोड्रिगेजको हातमा पुगेको छ। देशको सर्वोच्च अदालतले शनिबार रोड्रिगेजलाई कार्यकारी राष्ट्रपति तोक्दै सरकार सञ्चालनको सम्पूर्ण अधिकार प्रदान गरेको छ।
अदालतको फैसलामा राष्ट्रपति मादुरो अनुपस्थित रहेको अवस्थामा संविधानअनुसार उपराष्ट्रपतिले कार्यकारी जिम्मेवारी सम्हाल्ने व्यवस्था रहेको उल्लेख गरिएको छ। भेनेजुएलाको संविधानको धारा २३३ र २३४ ले राष्ट्रपतिको अस्थायी वा स्थायी अनुपस्थितिमा उपराष्ट्रपतिले राष्ट्रपतिको कार्यभार सम्हाल्ने स्पष्ट प्रावधान गरेको छ।
अर्थ तथा तेल मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेकी रोड्रिगेजले शनिबार दिउँसोदेखि औपचारिक रूपमा कार्यकारी राष्ट्रपतिको भूमिका निर्वाह गर्न थालेकी हुन्। राष्ट्रपति मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस पक्राउ परेपछि केही घण्टामै उनले अन्य मन्त्री तथा वरिष्ठ अधिकारीहरूसहित राष्ट्रिय रक्षा परिषद्को बैठकको अध्यक्षता गरिन्।
उक्त बैठकमा रोड्रिगेजले अमेरिकी सैन्य अपरेशनको कडा निन्दा गर्दै मादुरो दम्पतीको “तत्काल रिहाइ”को माग गरिन्। भेनेजुएलाको राष्ट्रिय झन्डाअगाडि सम्बोधन गर्दै उनले बिहान सबेरै गरिएको अपरेशन अन्तर्राष्ट्रिय कानुन र भेनेजुएलाको सार्वभौमिकताको स्पष्ट उल्लङ्घन भएको बताइन्। उनले यस कदमलाई भेनेजुएलाका जनताले अस्वीकार गर्नुपर्ने र सम्पूर्ण ल्याटिन अमेरिकी मुलुकहरूले सामूहिक रूपमा निन्दा गर्नुपर्ने धारणा व्यक्त गरिन्।
५६ वर्षीया डेल्सी रोड्रिगेज कराकासकी स्थायी बासिन्दा हुन्। उनले भेनेजुएलाको केन्द्रीय विश्वविद्यालयबाट कानुन अध्ययन गरेकी छन् र दुई दशकभन्दा बढी समयदेखि ‘चाभिस्मो’ राजनीतिक आन्दोलनको प्रमुख व्यक्तित्वका रूपमा सक्रिय रहँदै आएकी छन्।
यसैबीच, अमेरिकाले पक्राउ गरेका राष्ट्रपति मादुरो र उनकी पत्नी हाल न्यूयोर्क सहरमा रहेको पुष्टि भएको छ। मादुरोलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ, जहाँ उनले म्यानह्याटनको संघीय अदालतमा लागूपदार्थ तथा हतियारसम्बन्धी अभियोगको सामना गर्ने बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा “विवेकपूर्ण संक्रमण” नहुँदासम्म अमेरिका हस्तक्षेपकारी भूमिकामा रहने बताएका छन्। साथै उनले भेनेजुएलाका विशाल तेल भण्डारहरू अमेरिकी नियन्त्रणमा रहने दाबीसमेत गरेका छन्।


