भेनेजुएलामा अमेरिकी अपरेशन: मादुरो नियन्त्रणमा, कार्यवाहक राष्ट्रपतिका रूपमा रोड्रिगेज

भेनेजुएलामा अमेरिकी अपरेशन: मादुरो नियन्त्रणमा, कार्यवाहक राष्ट्रपतिका रूपमा रोड्रिगेज तरुण खबर २० पुष २०८२, आईतवार १२:०७
भेनेजुएलामा अमेरिकी अपरेशन: मादुरो नियन्त्रणमा, कार्यवाहक राष्ट्रपतिका रूपमा रोड्रिगेज

अमेरिकाले शनिबार भेनेजुएलामा गरेको सैन्य अपरेशनपछि राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको छ। दुवैलाई हाल न्यूयोर्कमा हिरासतमा राखिएको छ।

न्युयोर्क टाइम्सले प्रकाशित गरेको रिपोर्टअनुसार अमेरिकी आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको छ। यसमा सर्वसाधारण र सैनिक दुबै पर्न गएको स्रोतले जनाएको छ। अमेरिकी अधिकारीहरूको भनाइ अनुसार आक्रमणमा १५० भन्दा बढी अमेरिकी विमान प्रयोग गरिएको थियो र हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पारेर हेलिकोप्टरमार्फत सैनिकहरू मादुरोको निवासमा पठाइएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस अपरेशनलाई सफल र तत्काल निर्णय भएको बताएका छन्। उनले भनेका छन्, “सुरक्षित, उपयुक्त र विवेकपूर्ण सत्ता हस्तान्तरण सुनिश्चित नभएसम्म अमेरिका भेनेजुएलाको प्रशासन सञ्चालन गर्नेछ।”

यसैबीच, भेनेजुएलाको उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी छिन्।

शनिबार नै न्यूयोर्कको संघीय अभियोजक कार्यालयले मादुरो र फ्लोरेसमाथि अमेरिकामा लागुऔषध कोकिन तस्करीसम्बन्धी आपराधिक आरोप लगाउने अभियोग पत्र सार्वजनिक गरेको छ।

अन्तर्राष्ट्रिय कानुन विशेषज्ञहरूले भने अमेरिकी अपरेशनले क्षेत्रीय अस्थिरता बढाउने र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको चेतावनी दिएका छन्। तथापि, अमेरिकी अधिकारीहरूले अपरेशनको उद्देश्य मादुरो नियन्त्रणमा लिएर स्थिरता र सुरक्षित सत्ता हस्तान्तरण सुनिश्चित गर्नु रहेको बताएको छ।