तरुण खबर
४ फाल्गुन २०७७, मंगलवार १३:१७
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हिजो सोमबारको विरोध सभामा सहभागी हुनेहरुप्रति आभार व्यक्त गरेका छन् । सभापति देउवाले एक विज्ञप्तिमार्फत आभार व्यक्त गरेका हुन् । संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ७७ वटै जिल्लाहरुमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुले हिजो आयोजना गरेको विरोध प्रदर्शन सफल भएको देउवाको दावी छ ।
प्रदर्शनले के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिब्यक्त गरेको देउवाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
कार्यक्रम घोषणा भएदेखि समापन हुँदासम्म निरन्तर समाचार सम्प्रेषण गर्नुहुने आदरणीय पत्रकार मित्रहरूलाई धन्यवाद ज्ञापन गर्दछु विज्ञप्तिमा भनिएको छ । यसअघि सभापति देउवाले रूपन्देही कांग्रेसले सोमबार भैरहवामा गरेको विरोध सभामा ओली र प्रचण्डलाई जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भन्नुभन्दा राम्रो वकिल राख्न सुझाब दिएका थिए ।
‘संसद विघटनको मुद्दा अदालतमा छ, अदालतले जसको ठूलो जुलुस हुन्छ, उसको पक्षमा फैसला गर्ने होइन, जुलुस निकालेर यो गर, त्यो गर भन्नु गलत हो,’ देउवाले भने, ‘माओवादीको ठूलो जुलुस हुन्छ कि ओलीको ठूलो जुलुस हुन्छ ? अदालतले त्यो हेर्दैन । त्यस्तो भए त अदालत नै किन चाहियो र ? जसको जुलुस ठूलो हुन्छ, उसले भनेको माने भैइगो नि’ भनेका थिए ।


