कोरलानाकामा कारोबार सुस्त, वैकल्पिक नाकाको भूमिका भने कायम

कोरलानाकामा कारोबार सुस्त, वैकल्पिक नाकाको भूमिका भने कायम तरुण खबर २३ पुष २०८२, बुधबार ११:१०
कोरलानाकामा कारोबार सुस्त, वैकल्पिक नाकाको भूमिका भने कायम

मुस्ताङस्थित नेपाल–चीन उत्तरी कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार पछिल्लो समय उल्लेख्य रूपमा घटेको छ। तातोपानी र रसुवागढी नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि कोरलानाकाबाट हुने व्यापार न्यून भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ।

भन्सार कार्यालयका सूचना अधिकारी निमेन्द्र सिंहका अनुसार हाल कोरलानाकाबाट नेपाल भित्रिएका मालवाहक कन्टेनरमध्ये आठ–दशवटा मात्र भन्सार जाँचपासका लागि पेन्डिङमा छन्। पेन्डिङमा रहेका कन्टेनरबाहेक पछिल्ला दिनमा नयाँ कन्टेनर कार्यालयमा नआएको उनले जानकारी दिए।

यसअघि तातोपानी र रसुवागढी नाका बन्द रहेका बेला कोरलानाकाबाट दैनिक १५ देखि २० वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास हुने गरेको थियो। तर अहिले त्यो सङ्ख्या लगभग शून्यमा झरेको सिंहको भनाइ छ। गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरलानाकाबाट हालसम्म साढे पाँच अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भइसकेको छ।

भन्सार कार्यालयका अनुसार कोरलानाकाबाट हालसम्म ११ अर्ब रुपैयाँभन्दा बढी मूल्यको मालवस्तु नेपाल आयात भएको छ भने नेपालबाट चीनतर्फ करिब १९ करोड रुपैयाँभन्दा बढी मूल्यका हस्तकला तथा नेपाली उत्पादन निर्यात भएका छन्। यसै नाकाबाट दुई हजार १०० भन्दा बढी विद्युतीय कार नेपाल भित्रिएका छन्। पछिल्लोपटक बिवाइडी कम्पनीले मात्र झन्डै ५०० भन्दा बढी विद्युतीय कार यही नाकाबाट आयात गरेको भन्सार कार्यालयले जनाएको छ।

तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएपछि कोरलानाकाबाट सामान ढुवानी गर्दा लागत बढी पर्ने भएकाले आयात–निर्यातको परिमाण घटेको भन्सार कार्यालयको ठहर छ। कारोबार घटेसँगै कार्यालयका कर्मचारीहरू तुलनात्मक रूपमा फुर्सदिला भएका छन्।

यद्यपि, प्रमुख निमेन्द्र सिंहले प्रतिकूल मौसमबाहेक अन्य समयमा कोरलानाकाबाट आयात–निर्यात पूर्ण रूपमा बन्द नहुने दाबी गरेका छन्। “रसुवागढी र तातोपानी नाका खुलेपछि पहिलेजस्तो कारोबार नहोला, तर केही व्यापारीका लागि कोरलानाका अझै सहज विकल्प हो,” उनले भने, “यसैले भन्सार कार्यालय ठप्प हुन्छ भन्ने अवस्था छैन।”

हाल कोरलानाका र भन्सार कार्यालय क्षेत्रमा चहलपहल घटेको छ। समुद्री सतहबाट चार हजार ६१० मिटर उचाइमा रहेको यस क्षेत्रमा व्यापार र ढुवानीमा संलग्न व्यापारी तथा स्थानीय युवाहरू नाकामा गतिविधि कम भएपछि जाडो छल्न बेँसी झरेका छन्। यद्यपि, प्रतिकूल मौसमका बाबजुद केही कर्मचारी भने कार्यालयमै रहेर सेवा प्रवाह गरिरहेका छन्।